प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः पुलिसको दोस्रो जित

काठमाडौं । करण केसीकाे चारविकेटप्रेरित नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पुलिसले मंगलबार विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ३७ रनको योगफल तयार पारेको थियो । एक सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसको जितमा कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । उनले २२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यस्तै राशिद खानले २८, दिलिप नाथले २५ र अनिल साहले २२ रन जोडे ।

आर्मीका साहब आलमले तीन, जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट लिए ।

यसअघि पहिलाे इनिङमा आर्मीका कप्तान विनोद भण्डारीले ४४ रन जोडेका थिए । त्यस्तै सोमपाल कामीले ४२ र कुुशल मल्लले १२ रन बनाएका थिए ।

पुलिसका करण केसीले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले १७ रन खर्चिए । गुलसन झा र योगेन्द्रसिंह कार्कीले समान दुई विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको पुलिस समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पुलिसले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई दुई रनले पराजित गरेको थियो ।

दुई खेलबाट दुई अंक जोडेको आर्मीको भने यो पहिलो हार हो । आर्मीले पहिलो खेलमा कर्णाली प्रदेशमाथि ६३ रनको जित दर्ता गराएको थियो ।