सहिद स्मारक ‘ए’ डिभिजन लिग

जितको दबाबमा मछिन्द्र

काठमाडौं । गत सिजन सहिद स्मारक ए डिभिजन लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन । 

यस सिजन मच्छिन्द्रले त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब ,एपिएफ क्लबसँगै एएफसी क्लब लाइसेन्स प्राप्त गरेको थियो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी लिगको सातौ चरणको समाप्तीमा शीर्ष स्थानमा बस्ने टोलीले नेपाली लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने जनाइसकेको छ । 

त्यसैले आइतबार सातौ चरणमा नेपाल पुलिस क्लबको सामना गर्दा मछिन्द्र स्पष्ट तीन अंक हात पार्दै शीर्ष स्थानमा फर्कदै एएफसी कप छनोट खेल्न चाहन्छ । 

सात खेलमा शीर्ष स्थानको मनाङको १६ अंक छ । दोस्रो स्थानको मछिन्द्रको १४ अंक छ । त्यसैले एएफसी कप छनोेटका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जितको विकल्प छैन । बराबरी वा हारले मछिन्द्रको एएफसी कप छनोट खेल्ने लक्ष्य यस पटक पनि अधुरो बन्न सक्छ ।

पुलिसविरुद्धको जित हात पारेमा मच्छिन्द्रको १७ अंक हुनेछ । मच्छिन्द्रले एक अंकको अग्रता लिँदै शीर्ष स्थानको टोलीको रुपमा एएफसी कप छनोट खेल्नेछ ।

पुलिस क्लब भने ६ खेलमा ६ अंकसहित १० औं स्थानमा छ । पाँचौ चरणमा मनाङलाई नतिजा सुम्पिएको पुलिस छैटौं चरणमा फ्रेन्डससँग गोलरहित बराबरीमा रोकिएको थियो ।