काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार फ्रेन्डस क्लबलाई ३-२ ले पराजित गर्दै न्युरोड टिम (एनआरटी) अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
एनआरटीको जितमा मेसुके ओलोमोउले दुई गाेल गर्दा स्टेफिन बिनोङले एक गाेल गरेका थिए । फ्रेन्डसका जामोल फ्रांकोइस र नाथनियल जुड गार्सियाले समान एक गोल गरे ।
सात खेलमा १० अंक जोडेको एनआरटी पाँचौ स्थानमा उक्लिएको हो । समान खेलमा मात्र तीन अंक जोडेको फ्रेन्डस भने अन्तिम स्थानमा छ ।
पाँचौ मिनेटमा स्टेफिन विनोङको गोलमा एनआरटीले अग्रता लिएको थियो । विनोङले नविन गुरुङको पासलाई पोस्टको दिशा दिएका थिए ।
२०औं मिनेटमा मेसुके ओलोमोउले नविनको पासलाई जाली चुमाउँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।
खेल सकिन नौ मिनेट बाँकी हुँदा जामोल फ्रांकोइसले बललाई पोस्टको दिशा दिँदै फ्रेन्डसलाई खेलमा फर्काउने संकेत गरेका थिए ।
इन्जुरी समयको पाँचाै मिनेटमा एनआरटीका मेसुकेले गोल गर्दै टोलीको अग्रता ३-१ मा पुर्याएका थिए ।
त्यसको एक मिनेटपछि नै गार्सियाले फ्रेन्डसका लागि दोस्रो गोल गरे पनि त्यो उनको टोलीलाई खेलमा फर्काउने पर्याप्त भएन ।
यसअघि २५औैं मिनेटमा नाथनियल जुड गार्सियाको फ्रिकिक बारमा लागेर फर्कदा फ्रेन्डसले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।
४१औं मिनेटमा विनोङको प्रहारमा बार बाधक बन्दा एनआरटीले अग्रता बढाउने अवसर गुमाएको थियो ।
एनआरटी पछिल्लो खेलमा एपिएफसँग ३-३ को बराबरीमा रोकिएको थियो भने फ्रेन्डस नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
लिग अन्तर्गत शनिबार पहिलो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार तथा दोस्रो खेलमा च्यासल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।