इङ्लिस प्रिमियर लिग

जेरार्डलाई कोभिड संक्रमण, दुई खेल गुमाउने

लन्डन । कोभिड १९ को संक्रमण पुष्टी भएपछि एस्टन भिल्लाका प्रशिक्षक स्टेभन जेरार्डले टोलीका दुई प्रिमियर लिग गुमाउने भएका छन् ।

जेरार्ड आइतबार चेल्सीविरुद्धको घरेलु खेल तथा मंगलबार लिडस युनाइटेडको भ्रमणमा टोलीसँग नहुने भिल्लाले जनाएको छ ।

‘कोभिड १९ को संक्रमण भएपछि आइसोलेसनमा बस्नुपर्ने भएकाले मुख्य प्रशिक्षक स्टेभन जेरार्ड चेल्सी र लिडस युनाइटेडविरुद्ध हुने हाम्रा आगामी दुई खेलमा अनुपस्थित हुनेछन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोमिड १९ को महामारीका कारण जारी सिजनमा पनि इङ्लिस फुटबलमा थुप्रै खेल प्रभावित भएका छन् ।

परम्परागत बक्सिङ डेमा समेत आइतबार प्रिमियर लिगका सबै खेल हुने छैनन् । सबै टोलीले बक्सिङ डेमा खेल्ने चलनअनुसार १० खेल हुनुपर्नेमा चार खेल स्थगित भइसकेका छन् ।

बर्नलीविरुद्धको भिल्लाको अघिल्लो खेल थुप्रै खेलाडीमा संक्रमण देखिएपछि स्थगित गरिएको थियो । यसैबीच लिडस युनाइटेडविरुद्धको खेलका लागि इलान्ड रोडको भ्रमण पनि अझै पक्का छैन । लिडस र लिभरपुलबीचको खेल संक्रमणको उच्च दरका कारण स्थगित भइसकेको छ ।