साफ यु १९ महिला च्याम्पियनसिप

नेपालको फाइनल प्रवेश सम्भावना बलियो

काठमाडौं । भुटानमाथि ४-० को सहज जित हात पार्दै नेपालले शीर्ष दुईमा बस्दै साफ यु १९ महिला च्याम्पियनसिपको फाइनल प्रवेश सम्भावना बलियो पारेको छ । 

शुक्रबार समूहको तेस्रो खेलमा हात पारेको जितसँगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।

 नेपालले तीन खेलमा सात अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा समान सात अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । तीन खेलमा ६ अंक जोडेको भारत तेस्रो स्थानमा छ भने समान खेलमा ३ अंक बटुलेको भुटान चौथो स्थानमा छ । पाँचौ स्थानको श्रीलंकाले अंक खाता खोल्न सकेको छैन । 

पाँच टोलीको सहभागिता रहेको प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई स्थानमा बस्ने टोली फाइनल पुग्नेछ । 

दोस्रो मिनेटमा मेनुका कुमारी आलेमगरको गोलमा नेपालले अग्रता लिएको थियो । १८औं मिनेटमा कुसुम खतिवडाले नेपालको अग्रता दोब्बर पारिन् । त्यसको तीन मिनेटपछि नै रजनी थोकरले नेपालाको अग्रता ३-० मा पुर्याइन । ७२औं मिनेटमा मेनुकाको व्यत्तिगत दोस्रो गोलमा नेपालले सहज जित पक्का गरेको हो । 

आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतलाई १-० ले हराएको थियो ।

समूहको अन्तिम खेलमा आइतबार भारतसँग अंक बाँडेमात्र पनि नेपालको फाइनलको टिकट पक्का हुनेछ ।