स्पेनिस ला लिगा

मड्रिड डर्बीमा रियालको रवाफ, बार्सिलोनाले अंक बाँड्यो

मड्रिड । रियाल मड्रिडले आइतबार मड्रिड डर्बीमा एट्लेटिको मड्रिडलाई २-० ले हराउँदै स्पेनिस ला लिगामा आफ्नो शीर्षता थप फराकिलो पारेको छ ।

रियाल १७ खेलको समाप्तीमा ४२ अंकसहित शीर्ष स्थानमा छ,जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको सेभिया भन्दा आठ अंक बढी हो । तेस्रो स्थानको रियाल बेटिसको ३३अंक छ भने चौथो र पाँचौ स्थानको एट्लेटिको र रियाल सोसिडाडको समान २९ अंक रहेको छ ।

१६औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियालले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्को एसेन्सियोले कार्लोे एन्सेलोट्टीको टोलीको अग्रता दोब्बर पारेका थिए ।

ला लिगा अन्तर्गत आइतबार भएको अर्को खेलमा बार्सिलोना भने ओसासुनासँग २-२ को बराबरीमा रोकिएको छ । 

गत बुधबार मात्र बायर्न म्युनिखसँग निराश हुँदै  सन् २००३-२००४ को सिजन पछि पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको जाभी हर्नान्डेजका लागि यो नतिजा थप पिडादायी बनेको छ । 

१२औं मिनेटमा निको गोन्जोल्वेजको गोलमा बार्सिलोनाले अग्रता लिए पनि त्यसको दुई मिनेटपछि नै डेविड गार्सियाले ओसासुनालाई खेलमा फर्काएका थिए ।

४९औं मिनेटमा इजालजौलीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर खेल सकिन ६ मिनेट बाँकी हुँदा इज्क्वेल एभिल्लाले ओसासुनालाई खेलमा फर्काएका थिए ।

बार्सिलोना १७ खेलमा २४ अंकसहित आठौं स्थानमा छ भने समान खेलमा २२ अंक बटुलेको ओसासुना १० औं स्थानमा छ ।