साफ यु-१९ महिला च्याम्पियनसिप

बदला लिने अवसरबाट चुक्यो नेपाल

काठमाडौं । साफ यु १९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग बाँडेको छ ।

ढाकास्थित बिएसएसएस मुस्तफा कमल स्टेडियममा  बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपालको सुखद सुरुआत गर्ने लक्ष्यले पूर्णता पाएन । 

नेपाली टोली सन्  २०१८ मा भुटानमा सम्पन्न साफ यु १८ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपवजेतामा सीमित भएको थियो । 

तीनवर्ष अघि फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट विमूख भएको नेपाल यसपाली पहिलो खेलमै बदला दिने लक्ष्यमा मैदान उत्रिए पनि उल्लेख्य प्रदर्शन भने गर्न सकेन । 

शनिबार भएको पहिलो खेलमा भुटानले सुखद सुरुआत गर्ने क्रममा श्रीलंकालाई ५-० ले हराएको थियो ।

पाकिस्तान र माल्दिभ्सको सहभागिता नरहेको प्रतियोगितामा पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालसहितका सहभागिहरु आयोजक बंगलादेश, भारत, भुटान र श्रीलंकाका टोलीले राउन्ड रोविन पद्दतीमा खेल्दै फाइनलको बाटो खोज्नेछन् । पहिलो चरणका शीर्ष दुई टोली पुस सातमा हुने फाइनललाई छानिन्छन् ।

नेपालले दोस्रो खेल मंसिर २९ गते श्रीलंका, तेस्रो खेल पुस दुईमा भुटान र चारमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।