खेलाडी सय दिन

दीपाको त्यो सयौं गोल

केही दिनयता दीपा अधिकारी चर्चामा छन् । गिनिज बुक्स अफ वर्ल्ड रेकर्डसमा आफ्नो नाम दर्ता गरेपछि उनको एकखाले चर्चा चुनिएको हो । दीपाले साथी लक्ष्मी पौडेलसँग विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेलेर विश्व कीर्तिमान बनाएकी हुन् ।

घटना भने सन् २०१८ को हो । जतिबेला जोर्डनमा रहेको विश्वकै सबैभन्दा होचो स्थानमा फुटबल भएको थियो ।

दीपा र लक्ष्मीले त्यहीं आयोजित महिला फुटबल प्रतियोगितामा सहभागिता जनाएका थिए । महिला सशक्तीकरणको सन्देश दिन आयोजित त्यस प्रतियोगिता समुद्री सतहभन्दा ३ सय २० मिटर तल भएको थियो । त्यसवापतको आधिकारिक पत्र गिनिस वर्ल्ड रेकर्ड्सबाट दीपाले केही दिनअगाडि मात्र प्राप्त गरेकी थिइन् ।

हामीले यहाँनिर चर्चा गर्न लागेको विषय भने त्यो कीर्तिमानबारे होइन । यो त दीपाको खास चर्चा गर्न तयार पारेको आधारमात्रै हो । नेपाली महिला फुटबलले पाएका एक उम्दा खेलाडीमा दीपाको नाम पनि आउने गर्छ । सन् २०१० ताकाको एउटा पुस्ता र अहिले खेलिरहेका खेलाडी दुवैसँगै उनले खेलेकी छन् ।

मिडफिल्डकी यी खेलाडीले नेपालका लागि ९ गोल पनि गरेकी छन् । यसले पनि देखाउँछ, उनी कस्ता खेलाडी हुन् भनेर । यी ९ गोलमध्ये एक गोल भने विशेष छ । उनले सन् २०१२ मा श्रीलंकामा सम्पन्न महिला साफ च्याम्पियनसपमा नेपालका लागि पहिलो गोल गरेकी थिइन् ।

त्यसको दुई वर्षपछि उनले सन् २०१४ मा पाकिस्तानमा आयोजित साफ च्याम्पियनसिपको अर्को संस्करणमा भुटानविरुद्ध दुई गोल गरिन् ६० र ८४ औं मिनेटमा । त्यसमध्ये दीपाले गरेको दोस्रो गोल भने ऐतिहासिक रह्यो, किनभने यो नै अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला टिमले गरेको १०० औं गोल थियो ।

दीपाको यो आठौं व्यक्तिगत गोल थियो । सानो-सानो कुरामा निकै खुसी हुने र त्यसलाई व्यक्त गर्न मीठो मुस्कान छर्ने यी खेलाडीलाई के थाहा छ त उनको त्यो गोल आफैंमा ऐतिहासिक छ भनेर ? सायद छैन होला, किनभने हाम्रोमा त्यसै पनि खेलको तथ्यांक ठीकसँग राख्ने चलन छैन । जति भएका छन्, त्यसकै आधारमा त हो दीपाको यस गोलबारे यति दाबी गर्न सकिएको ।

निश्चित छ, जतिबेला दीपाले यसबारे थाहा पाउनेछन्, उनी असाध्यै खुसी हुनेछिन् । दीपाकै नाममा एक अर्को यस्तै उल्लेखनीय उपलब्धि पनि छ । सन् २०१२ को फाइनलमा नेपालले भारतको सामना गरेको थियो । त्यसमा शक्तिशाली छिमेकी प्रतिद्वन्द्वीविरुद्ध उनले तीन मिनेटभित्र गोल गरेकी थिइन् ।

महिलाको अन्तर्राष्ट्रिय फुटबलमा नेपाली खेलाडीले गरेको सबैभन्दा छिटो गोलमा पर्छ यो । यसबारे ठ्याक्कै यही भनेर दाबी त गर्न सकिन्न । तर, मजबुत भएर गर्न सकिने दाबी के हो भने यिनै दीपाले भुटानविरुद्ध गरेको त्यो गोल नै महिलाको अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सय गोल हो ।