पारसको पहिलो ‘सय रन’

नेपाली क्रिकेटले पारस खड्कालाई सम्झनुपर्ने धेरै कारण छन् । क्रिकेटमात्र होइन, पूरा नेपाली खेलकुदले नै उनलाई सम्झिरहने छ । नेपाली क्रिकेटको एउटा कालखण्ड पारसको वरिपरि घुम्ने गर्छ । उनलाई मन पराउने धेरै होलान्, मन नपराउने पनि हजार होलान्, तर उनलाई नेपाली खेलकुदले बिर्सन सक्ने छैन ।

खेलाडी डटकमले उनलाई अहिले ठ्याक्कै सम्झेको भने ती दुई पहिलो ‘सय रन’ का लागि हो । यो एउटा यस्तो कारण हो, जुन कहिले पनि मेटिने छैन । पारसले एकदिवसीय क्रिकेटमा पनि शतक बनाए । ट्वान्टी २० क्रिकेटमा पनि शतक बनाए । मीठो संयोग कस्तो भने यी दुवै शतक नेपालका लागि क्रिकेटको फरक स्वरुपमा बनेका पहिलो शतक थिए ।

यी दुवै अवसरमा उनलाई सोधिएको थियो । यी शतक बनाउँदा कस्तो अनुभव भयो त ? त्यसमा उनको अपेक्षित उत्तर थियो, व्यक्तिगत प्रदर्शनभन्दा टिमको प्रदर्शन ठूलो हो । सबैभन्दा पहिले एकदिवसीय शतककै चर्चा गरौं । दिन थियो, सन् २०१९ को जनवरी २८ । प्रतिद्वन्द्वी थियो, संयुक्त अरब इमिरेट्स (यूएई) । तीन खेलको त्यो शृंखलामा यो नै अन्तिम प्रतिस्पर्धा थियो ।

शृंखला १-१ को बराबरीमा थियो । पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ५४ रन बनायो । एकदिवसीय क्रिकेटमा यो राम्रै स्कोर थियो । पारस बलिङमा पनि उत्रेका थिए । उनले ४४ रन खर्चेर दुई विकेट लिए । जवाफमा नेपालले ४४.४ ओभरमात्र खेलेर ६ विकेटको क्षतिमा दुई सय ५५ रन बनायो । चार विकेटको जित निस्केको थियो ।

त्यसमा पारसले एक सय १५ रन बनाए । भनिरहनुपर्दैन, उनले इतिहास पनि बनाएका थिए । उनले एक सय नौं बल सामना गरेर १५ चौका र एक छक्का प्रहार गरे । स्वाभाविक रूपमा उनी नै म्यान अफ दी म्याच भए । शृंखला पनि नेपालकै पक्षमा रह्यो २-१ ले ।

अब ट्वान्टी २० शतकको पालो । दिन थियो सन् २०१९ को सेप्टेम्बर २८ । प्रतिद्वन्द्वी थियो सिंगापुर ।

त्यसमा सिंगापुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा तीन विकेट गुमाएर एक सय ५१ रन बनायो । जवाफमा नेपालले एकै विकेट मात्र गुमाएर एक सय ५४ रन बनायो । नौं विकेटको जित भइहाल्यो । त्यसमा पारस ५२ बलमा एक सय ६ रन बनाएर अविजित रहे । उनको ब्याटबाट सात चौका र नौं छक्का निस्केको थियो । यो एक अर्को इतिहास बनेको थियो ।