महिला फुटबल

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन

काठमाडौं । चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । एएफसी 'ए' लाइसेन्स प्राप्त ३३ वर्षिय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रुपमा कार्यरत थिए ।

महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी  फिलिप्सको अनुपस्थितीमा पूर्व राष्ट्रिय खेलाडी चेतनले जिम्मेवारी पाएका हुन् । एन्फाका टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) समेत रहेका अस्ट्रेलियन नागरिक ग्यारी अन्य प्राविधिक काममा व्यस्त रहेको बताइएको छ ।

हरि खड्कालाई स्थानान्तरण गर्दै महिला राष्ट्रिय टोलीको जिम्मेवारी लिएका ग्यारीको नेतृत्वमा नेपाली महिला टोलीले साउनमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध भएको दुई मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा सहभागिता जनाएको थियो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त रहेका कारण चेतनलाई महिला टोली हेर्न दिने सम्भावना रहेको मात्र बताए । ‘डिसेम्बरसम्म मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त छन् । यस अघि टोली हेरेका चेतनलाई जिम्मेवारी दिने सम्भावना छ,’तुलाधरले भने ।

तर एन्फाको उच्च स्रोतले भने चेतनको नियुक्ति प्रकृया पूरा भइसकेको खेलाडीलाई जानकारी गरायो । स्रोतका अनुसार चेतनले पछिल्लो तीन दिनदेखी टोलीको नियमित प्रशिक्षण गराइरहेका छन् । २६ खेलाडी समेटेर चेतनले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिक प्रशिक्षण गराइरहेको छन् ।  

४ देशको सहभागीता रहने प्रतियोगिता २३ मंसिरबाट पुष ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल सहित आयोजक भारत र थाइल्यान्डको सहभागिता टुंगो लागिसकेको छ भने अर्को एक टोलीको घोषणा भइसकेको छैन ।