सहिद स्मारक लिग

सहिद स्मारक 'ए' डिभिजन लिगः शुक्रबारबाट दोस्रो चरणका खेल


काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु शुक्रबारबाट सुरु हुँदैछ । 

शुक्रबार हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्रीस्टार क्लब तथा दोस्रो खेलमा फ्रेन्डस् क्लब र संकटा क्लब भिड्दैछन् ।

थ्रीस्टार क्लब विरुद्ध सातदोबाटो युथ क्लब (१ः ०० बजे, दशरथ रंगशाला)
पहिलो चरणमा शीर्ष स्थानमा बसेको थ्रीस्टार शुक्रबार सातदोबाटो युथ क्लबको सामना गर्दा जित यात्राको निरन्तरता दिन चाहन्छ ।

थ्रीस्टारका प्रशिक्षक उज्जन श्रेष्ठले च्यासल युथ क्लबविरुद्ध पहिलो खेलमा हात पारेको सहज जितले टोलीको मनोबल बढेको बताए । उनले सातदोबाटोको समाना गर्दा पहिलो खेलमा अग्रपत्तिमा देखिएको समस्या नदोहोरिने बताए ।
‘सातदोबाटोविरुद्ध खेल्दा पहिलो खेलमा देखिएको अग्रपत्तिको समस्या समाधान भैसक्नेछ । हामीले कुनै पनि टोलीलाई कमजोर टोलीको रुमपा लिएका छैनौ',उज्जनले भने, ‘हामीले राम्रो तयारी गरेका छौ । हामी हरेक खेल फाइनल सम्झेर खेल्नेछौ ।’

त्यस्तै पहिलो खेलमा फ्रेन्डस क्लबविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको सातादोबाटोका प्रशिक्षक मेघराज केसीले स्पष्ट तीन अंकका लागि खेल्ने बताए ।

हामी तीन अंककै लागि खेल्नेछौ । शीर्ष लिगमा हामी नयाँ टोली हौ, त्यसैले आफुलाई प्रमाणित गर्ने चुनौती छ, मेघराजले भने, दक्षिण अफ्रिकी खेलाडी सिपहमान्डला माथेनवा चोटका कारण बाहिरिएका छन् । त्यसले टोलीलाई केही घाटा पुग्नेछ । तर थ्रीस्टार पनि सेट भैसकेको जस्तो देखिन्न । उनीहरुले च्यासलविरुद्ध तीन वटै सेट पिसमा गोल गरेका थिए । सबै गोल रक्षकले गरेका थिए । उनीहरुलाई कडा चुनौती दिनेछौ ।'

संकटा क्लबविरुद्ध फ्रेन्डस क्लब (४ः ४५ बजे, दशरथ रंगशाला)
पहिलो चरणमा सातदोबाटोविरुद्ध गोलका केही अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा अंक बाँडेको

फ्रेन्डस संकटाविरुद्ध मैदान उत्रदा लिगको पहिलो जितको खोजीमा हुनेछ ।

फ्रेन्डसका प्रशिक्षक मृगेन्द्र मिश्रले संकटाविरुद्ध स्पष्ट तीन अंकका लागि खेल्ने र पहिलो खेलमा भएका गल्ती नदोहोरिने बताए ।

‘सातदोबोटोविरुद्ध टोलीका महत्वपूर्ण खेलाडीले रातो कार्डको दर्शन गरे । त्यसैले दोस्रो खेलमा रक्षक रोनेल पाउलको अनुपस्थितीले  टोलीमा असर पर्नेछ,’मिश्रले भने, ‘यो लिग हो, यहान् अंकको महत्व हुन्छ । बराबरीले मात्र लिगमा जोगिनै कठिन छ । त्यसैले स्पष्ट तीन अंकका लागि खेल्नेछौ ।’

संकटाले भने पहिलो खेलमा हिमालयन शेर्पाविरुद्ध १-१ को बराबरी खेल्दै अंंक बाँडेको थियो ।