वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

सुदुरपश्चिममाथि प्रदेश दुईको रोमाञ्चक जित

काठमाडौं । आदिल अन्सारीको आक्रामक ब्याटिङप्रेरित प्रदेश दुईले यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार सुदुरपश्चिम प्रदेशलाई दुई विकेटले हराएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदुरपश्चिम प्रदेशले प्रस्तुत गरेको दुई सय ९१ रनको लक्ष्य प्रदेश दुईले ४९.१ ओभरमा आठ विकेट क्षतीमा पूरा गरेको हो ।

आदिलले ४३ बलमा सात चौका र ६ छक्का प्रहार परेका थिए । त्यस्तै अमित यादवले ४९ र गुल्सन झाले ४६ रन जोडे । 

सुदुरपश्चिम प्रदेशका शेर मल्ल र नरेन्द्र साउदले समान तीन विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङका लागि आएका सुदुरपश्चिमले अर्जुन साउदको एक सय १६ तथा लोकेश बमको ८१ रन मद्दतमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ९० रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

अर्जुनले ८५ बलमा १४ चौका र पाँच छक्का प्रहार गर्दा लोकेशले ७३ बलमा १३ चौका र एक छक्का प्रहार गरे ।
प्रदेश दुईका प्रदिप पासवानले तीन तथा विकेक यादव र अजय यादवले समान दुई विकेट लिए ।