पाब्लो आइमार

मेसीका आइडल आइमार, जसलाई चिन्न विश्वले कन्जुस्याई गर्यो

काठमाडौँ  । जनवरी २३, २०१८ का दिन पाब्लो आइमार अन्तिम पटक मैदान उत्रिए । हुन त उनले तीन वर्षअघि नै संन्यास लिइसकेका थिए । तर इस्टुवाडिआन्टेस डे रियो कुवार्टेका समर्थकसँग बिदा माग्न ३८ वर्षीय आइमार मैदान फर्किएका थिए ।

यो क्लबमा उनले आठ वर्ष बिताएका थिए । तर समर्थकसँग उनले बिदा माग्ने मौका पाएका थिएनन् । किनभने उनले सानै उमेरमा कुवार्टे छाडेका थिए । यसकारण औपचारिक रुपमा बिदा त माग्नु नै थियो । उनले कुवार्टेका समर्थकसँग बिदा त मागे नै, खेल करियरबाट पनि औपचारिक रुपमा संन्यास लिए ।

पूर्वखेलाडीको हैसियतमा पुगिसकेका आइमार हुवाँ रोमन रिकेल्मेसँग गफिए । यी दुई पूर्वखेलाडीबीच अनेकौँ समानता छन् । मुख्य समानता भनेको यी दुवैजना प्लेमेकर थिए ।

‘मैले आइमारबाट धेरै सिकेको छु । हामी एउटै क्लबबाट खेल्न पाएनौँ । मैले उनलाई भियारियालबाट खेलौँ भनेको थिए । तर उनी मानेनन्,’ अर्जेन्टिनाको एक टेलिभिजनसँगको अन्तरवार्तामा रिकेल्मेले भनेका छन् ।

सन् १९९० को दशकमा ब्युनस आयर्सका दुई ठूला क्लबका सिनियर टिममा आइमार र रिकेल्मेले मौका पाउँदा अर्जेन्टिनामा सोचियो, यी प्रतिभाशाली किशोर लामो दौडका घोडा हुन् ।

रिकेल्मेको कुरा सुनेपछि आइमारले भने, ‘सँगै खेल्न पाएको भए त गज्जब हुन्थ्यो । तर म भियारियाल नजानुको कारण छ । त्यहाँ गएको भए मैले कहिल्यै पनि बल पाउँदिन थिए । किनभने रिकेल्मेको खुट्टाबाट बल फुत्कदैन ।’

यी दुई हस्ती एक अर्कालाई सम्मान गर्छन् । जुन टेलिभिजन अन्तरवार्ता दौरान पनि देखियो । रिभर प्लेटका उत्पादन आइमार र बोका जुनियर्समा हुर्केका रिकेल्मे लगभग एकै समयमा उदाएका थिए । सन् १९९० को दशकमा ब्युनस आयर्सका दुई ठूला क्लबका सिनियर टिममा आइमार र रिकेल्मेले मौका पाउँदा अर्जेन्टिनामा सोचियो, यी प्रतिभाशाली किशोर लामो दौडका घोडा हुन् ।

सन् १९९७ मा अर्जेन्टिनाले फिफा वल्र्ड युथ च्याम्पियनसिप जित्दा आइमार र रिकेल्मेको भूमिका महत्वपूर्ण थियो । नकआउटको पहिलो खेलमै अर्जेन्टिनाले इङ्ल्यान्डलाई हराएको थियो । इङ्ल्यान्डमाथि २-१ को जित दर्ता गर्न आइमार र रिकेल्मेले एक-एक गोल गरेका थिए ।

पराजित इङ्लिस टिममा जेमी क्यारागर, माइकल ओवेन, डानी मर्फी जस्ता खेलाडी थिए । यसबाट पनि प्रष्ट हुन्छ, अर्जेन्टिनाले कुन स्तरको टिमलाई पन्छाएको थियो भनेर ।



घरेलु फुटबलमा चम्किएपछि आइमार सन् २००१ मा स्पेन लागे । आइमार भ्यालेन्सियासँग आबद्ध भएको एक वर्षपछि रिकेल्मे पनि स्पेन नै पुगे । यसबीचमा आइमार र रिकेल्मे राष्ट्रिय टिमका लागि पनि छुटाउनै नहुने नाम बन्न पुगे ।

सन् २००० दशकको अन्त्य सम्ममा आइमार र रिकेल्मेले अर्जेन्टिनाका लागि क्रमशः ५२ र ५१ खेल खेलिसकेका थिए । लामो समय युरोपमा रहेपछि यी दुई अन्ततः अर्जेन्टिना फर्किए । आइमार रिभर पुगे भने रिकेल्मे पुनः बोका जुनियर्स गए ।

खेल शैलीका आधारमा यी दुई खेलाडी करिब करिब उस्तै हुन् । तर आइमारले कहिल्यै पनि रिकेल्मे जस्तो लोकप्रियता कमाउन सकेनन् । रिकेल्मे विश्व फुटबलको उत्कृष्ट प्लेमेकेरहरू मध्येको एक मानिदा आइमार भने ओझेलमा परिरहे ।

यद्यपि आइमारको प्रतिभामाथि भने कहिल्यै पनि प्रश्न उठाइएन । लियोनल मेसीसमेत उनको ‘फ्यान’ थिए । बस्, आइमारका समर्थकको भनाइ यति हो, उनले प्रतिभा अनुसारको उचाइ प्राप्त गरेनन् ।

कतिपयको तर्क छ, रिकेल्मे आइमारभन्दा बढी प्रतिभाशाली थिए । फेरि रिकेल्मेले युरोपमा मात्रै होइन, अर्जेन्टिनामा पनि आइमारको भन्दा बढी प्रसिद्धि कमाए ।

हुन त रिकेल्मेले युरोपमा कहलिएको प्रतियोगिता जित्न सकेनन् । तर उनी अर्जेन्टिनामा भने आइमारको तुलनामा बढी सफल दरिए । उनले बोका जुनियर्सको जर्सीमा चार पटक लिग जिते भने तीन पटक कोपा लिर्बेटाडोरेस च्याम्पियन बने ।  विश्वकपमा पनि रिकेल्मेको प्रदर्शन आइमारको भन्दा बलियो रह्यो । सन् २००८ को ओलम्पिकमा त रिकेल्मेले अर्जेन्टिनाको पुरुष फुटबल टिमको कप्तानी नै गरे ।

कतिपयको तर्क छ, रिकेल्मे आइमारभन्दा बढी प्रतिभाशाली थिए । फेरि रिकेल्मेले युरोपमा मात्रै होइन, अर्जेन्टिनामा पनि आइमारको भन्दा बढी प्रसिद्धि कमाए । रिकेल्मे साढे चार सिजन स्पेनमा रहे । एक सिजन उनले बार्सिलोनामा बिताए भने बाँकी बसाइ भियारियालमा रह्यो ।

ला लिगामा उनी एक सिजन उत्कृष्ट विदेशी खेलाडी पनि घोषित भए । त्यहाँ उनले आक्रामक प्लेमेकरको छवि बनाए । उनले आफ्नो शैलीलाई युरोपियन क्लब फुटबलमा स्थापित गराए । रक्षापंक्तिलाई सहयोग नगरी, स्वतन्त्र भएर खेल्ने ‘नम्बर १०’ लाई आजको दिनमा पनि रिकेल्मेको उपमा दिइन्छ ।

आइमारले पनि युरोपियन क्लब फुटबलमा एक दशकभन्दा बढी समय बिताए । भ्यालेन्सियाबाट पहिलो सिजनमै च्याम्पियन्स लिगको फाइनलसम्म पुगे । राफेल बेनिटेजको प्रशिक्षणमा भ्यालेन्सियाले दुई पटक लिग र एक पटक युइएफए कप जित्दा आइमार टिमको सदस्य थिए । आइमारले भ्यालेन्सिया छाडे र भ्यालेन्सियाले उपाधि जित्न छाड्यो ।

भ्यालेन्सियाबाट बाहिरिएपछि आइमारको गन्तव्य बन्यो, रियाल जारागोजा । त्यहाँ दुई वर्ष रहेपछि आइमार पोर्चुगल पुगे । आफ्ना देशका हाभियर साभियोला र एंगल डी मारियासँग मिलेर आइमारले बेन्फिकालाई २००९-१० मा लिग च्याम्पियन बनाए ।

युरोपका दुई फरक लिग जितेका आइमारलाई किन अन्डररेट गरिन्छ ? वा समकालिन रिकेल्मेको दाँजोमा किन कम आकिन्छ ? जबकि मेसीले समेत आइमार आफ्नो आइडल भएको भनिसकेका छन् । हुनसक्छ, रिकेल्मे ज्यादा प्रतिभाशाली थिए । तर आइमारले पनि आफ्नै शैलीमा विश्व फुटबलमा आफ्नो नाम दर्ज गराएका छन् ।

आइमार फरक किसिमका थिए । अहिले देखिने आक्रामक मिडफल्डरहरु भन्दा धेरै फरक । उनी जस्तो सुकै संरचनामा पनि फिट हुनसक्थे । चाहे विंगमा होस् वा स्ट्राइकर पछाडिको पोजिसनमा, आइमारले आफूले सकेको खेल देखाए । हो, उनी कुनै पनि टिमको मुख्य स्टार बन्न सकेनन् । तर विपक्षीबाट बल खोस्न होस् वा काउन्टरमा बल लिएर विपक्षीको बक्समा पुग्ने मामलामा होस्, आइमार चुक्दैन थिए ।

किशोर खेलाडीहरुसँग काम गर्नुको आनन्द छुट्टै प्रकारको हुन्छ । अर्जेन्टिनाले विश्व स्तरीय खेलाडी उत्पादन गर्न छाडेको छ भनेर भनिँदैछ । यो केही हदसम्म सत्य पनि हुन सक्छ ।

अहिले आएर भने आइमार र रिकेल्मेले फरक बाटो रोजेका छन् । आइमार प्रशिक्षणमा व्यस्त छन् भने रिकेल्मेले आफूलाई क्लब प्रशासकका रुपमा अघि बढाएका छन् । रिकेल्मे हाल बोका जुनियर्सको दोस्रो वरियताका उपाध्यक्ष हुन् । उता आइमार अर्जेन्टिनाको यु १७ टिमको प्रशिक्षक छन् । अनि सिनियर टिममा लियोनल स्कालोनीलाई सघाउँछन् ।

यतिबेला अर्जेन्टिना विश्व फुटबलमा आफ्नो विरासत फर्काउन लागी परेको छ । यसको सुरुआत उसले आफ्नो महादेशबाट गरेको छ । फाइनलमा ब्राजिललाई पाखा लगाएर कोपा अमेरिका च्याम्पियन बन्दा अर्जेन्टिनाको मुख्य प्रशिक्षक स्कालोनी थिए । जसलाई पूर्वखेलाडीहरूले सहयोग गरिरहेका छन् । आइमारबाहेक वाल्टर सामुएल र रोबर्टो आएला पनि स्कालोनीको सहायकका रुपमा कार्यरत छन् ।

‘म यहाँ छु, सन्तुष्ट छु । किशोर खेलाडीहरुसँग काम गर्नुको आनन्द छुट्टै प्रकारको हुन्छ । अर्जेन्टिनाले विश्व स्तरीय खेलाडी उत्पादन गर्न छाडेको छ भनेर भनिँदैछ । यो केही हदसम्म सत्य पनि हुन सक्छ । यसकारण पनि मलाई यी साना उमेरका खेलाडीहरुसँग समय बिताउने इच्छा जागेको हो ।’ आइमार भन्छन् ।

जब आइमार र उनका पूर्वसहकर्मी भेट हुन्छन्, कसैले पनि आ-आफ्नो करियरको सफलता वा असफलतालाई कुराकानीको विषय बनाउँदैनन् । ‘हो हामीमध्ये केही असाध्यै सफल खेलाडी बने । तर हामी आपसमा विगतको कुरा कोट्याउदैनौँ । हामीसँग आ-आफ्नो कथा छ । सम्झना छ । बस् यही त हो, फुटबल,’ आइमार भन्छन् । 
(एजेन्सीहरुको सहयोगमा)