सहिद स्मारक लिग

हिमालयन शेर्पा र संकटाले अंक बाडे

काठमाडौं । सहिद स्माकर ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले १–१ को बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ६०औं मिनेटमा लक्ष्मण रुचालको गोलबाट संकटाले अग्रता लिएको थियो । हिमालयनका गोलकिपर दिप कार्कीले बल हातबाट छुटाएपछि लक्ष्मणले बललाई जाली चुमाए । तर संकटाको यो अग्रता धेरैबेर टिक्न सकेन ।

६३औं मिनेटमा त्रिदेभ गुरुङले गोल गरेपछि हिमालयन शेर्पा खेलमा फर्किएको थियो । जिवन गुरुङले दायाँतर्फबाट गरेको क्रसलाई त्रिदेभले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

यसबाहेक ८४औं मिनेटमा संकटाका गणेश हमालको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

लिगअन्तर्गत आजको अन्तिम खेलमा ४ः४५ बजे च्यासल युथ क्लबले थ्रिस्टारको सामना गर्दैछ ।