नेपाल पुलिस क्लब

पुलिसलाई वर्षको पहिलो उपाधि

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले वर्ष २०८१ को पहिलो उपाधि रुपमा १४औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

सोमबार राति सिमरा रंगशालामा सहिद स्मारक ए डिभिजन लिग पूर्व विजेता मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै पुलिस च्याम्पियन भएको हो । विजेता पुलिसले १० र उपविजेता मछिन्द्रले ५ लाख पाएका छन् ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो । पुलिसको जितमा वैकल्पिक खेलाडी अमित टमाटा नायक बने । सञ्जित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेको अमितले सौरभ लिम्बू र चन्दन दासको पेनाल्टी बचाए ।

चेतन घिमिरेको प्रशिक्षणमा रहेको पुसिललाई जित दिलाउन कप्तान रामचन्द्र वाजी, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरेका थिए । मच्छिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी र सनिस श्रेष्ठले मात्रै गोल गरेका हुन् ।

त्यसअघि निर्धारित खेलमा मछिन्द्र ९ खेलाडीमा समेटियो । राष्ट्रिय टोलीबाट खेलिसकेको उत्सव राईले ८४ र मनिष डांगीले ८८औं मिनेटमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । मछिन्द्रका  विमल घर्ति मगर  प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।