लियोनल मेसी

मेसीको गोल, बराबरीमा रोकियो इन्टर मियामी

काठमाडौं । चोटपछि फर्किएका कप्तान लियोनल मेसीले गोल गरेपनि अमेरिकी मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले अंक बाढेको छ । आइतबार बिहान सम्पन्न खेलमा मियामीले कोलोरादो रापिड्ससँग २–२ को बराबरी खेलेको हो ।

घरेलु मैदानमा इन्टरले मेसीसँगै सर्जियो बुस्क्वेट, जोर्डी अल्बा र लुइस स्वारेजबिना टोली उतारेको थियो । पहिलो हाफको अन्त्यतिर १–० ले पछि परेपछि प्रशिक्षक जेरार्डाे मार्टिनेजले मेसी र बुस्क्वेटलाई मैदान पठाएका हुन् ।

मेसीले ५८औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन् । उनले फ्रान्को नेग्रीको पासलाई बक्सभित्रबाट सहज गोल गरेका हुन् । घाइते भएपछि मेसी पछिल्लो साता मैदान बाहिर थिए । लिओ अफोन्सोले गोल गरेपछि ६०औं मिनेटमा मियामीले २–१ को अग्रता बनाएको थियो ।

तर, अन्तिम मिनेट सम्हालिन नसक्दा मियामी अंक बाढ्न बाध्य भएको हो । ८८औं मिनेटमा कोल बासेटले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

जितले शीर्ष स्थानमा फर्कने अवसर रहेपछि मियामीले यो अवसर गुमाएको छ । आठ खेलबाट १२ अंक जोडेको मियामी चौथो स्थानमा छ । १४ अंक जोडेको न्युयोर्क रेड बुल्स शीर्ष स्थानमा छ ।