इङ्लिस प्रिमियर लिग

आर्सनल शीर्ष स्थानमा फर्कियो

काठमाडौं । ब्राइटनलाई ३–० ले हराउँदै शनिबार राति आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

सहज जितपछि आर्सनलले लिभरपुल र साविक विजेता म्यानचेष्टर सिटीलाई पछि पारेको हो । आर्सनलको ३१ खेलबाट ७१ अंक छ । एक खेल कम खेलेको लिभरपुल समान ७० अंकसहित दोस्रो र सिटी तेस्रो स्थानमा छन् ।

प्रिमियर लिगमा त्रिकोणात्मक उपाधि भिडन्त बनेको छ । तीनै टोलीको सम्भावना उत्तिकै रहँदा उपाधि भिडन्त रोमाञ्चक बन्दै गएको छ ।

भ्रमणकारी टोली आर्सनलले पहिलो हाफमा १–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

३३औं मिनेटमा बुकायो साकाले पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता बनाएका थिए । काई हाभर्टले ६२औं मिनेटमा दोस्रो गोल गरे । लेसान्द्रो ट्रोसार्डले ८६औं मिनेटमा गोल गर्दै सहज जित दिलाएका हुन् ।

राति नै भएको खेलमा सिटीले क्रिष्टल प्यालेसलाई ४–२ ले हराएको थियो ।