इन्डियन प्रिमियर लिग

राजस्थानको लगातार चौथो जित

काठमाडौं ।  जोस बटलरको शतकप्रेरित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार सम्पन्न खेलको रोयल च्यालेन्जर्स बेङ्लोर (आरसिबी) लाई ६ विकेटले पराजित गरेको छ ।  

लगातार चौथो जितसँगै चार खेलमा आठ अंक जोडेको राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । पराजित आरसिबी पााच खेलबाट दुई अंकका साथ आठौं स्थानमा छ ।

घरेलु मैदान सवाइ मानसिंह क्रिकेट रंगशालामा आरसिबीले प्रस्तुत गरेको १८४ रनको लक्ष्य राजस्थानले पाँच बल बाँकी छँदा चार विकेट गुमाउँदै पूरा गर्यो ।  

राजस्थानका लागि बटलरले नौ चौका र चार छक्काको मद्दतले अविजित १०० रनको योगदान गरे । यसैगरी कप्तान सन्जु स्यामसनले ४२ बलमा आठ चौका र चार छक्काको मद्दतले ६९ र सिम्रन हेटमायरले अविजित ११ रन बनाए ।

दोस्रो विकेटका लागि बटलर र स्यामसनले १४८ रनको साझेदारी गरे । आरसिबीका लागि रिस टोप्लीले २ तथा यश दयाल र मोहम्मद सिरजले समान विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको  निम्तो पाएको आरसिबीले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रनको योगफल तयार पार्यो ।

आरसिबीका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र चार छक्काको मद्दतले ११३ रनको योगदान गरे । यसैगरी कप्तान फाफ डु प्लेसिसले ४४ रन बनाए ।

पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले १२५ रनको साझेदारी गरे । राजस्थानका लागि युजवेन्द्र चहलले दुई तथा नन्द्रे बर्गरले एक विकेट लिए ।