कतार विश्वकप २०२२

अर्जेन्टिनाविरुद्ध नेइमार नखेल्ने

ब्रासिलिया । ब्राजिलियन स्ट्राइकर नेइमार जुनियरले विश्वकप छनोटअन्तर्गत बुधबार बिहान हुने अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् ।

ब्राजिलयन फुटबल संघ (सिबिएफ) का अनुसार नेइमारले तिघ्राको चोटका कारण अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् ।

‘सोमबार बिहान प्रशिक्षणका दौराना नेइमारले देब्रे तिघ्रामा दुखाई भएको बताएका छन्,’ सिबिएफको विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल रिर्पोटले नेइमारलाई अर्जेन्टिना भ्रमणमा सहभागी नगराउन सल्लाह दिएका कारण प्राविधिक टोलीले उनलाई बुधबार हुने खेलमा सहभागी नगराउने निर्णय गरेको छ ।’  

विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

यता, अर्जेन्टिनाले भने बुधबार हुने खेलमा ब्राजिलविरुद्ध जित निकाले विश्वकपको यात्रा पक्का गर्नेछ ।