कतार विश्वकप २०२२

स्विट्जरल्यान्ड विश्वकपमा छनोट, इटालीले प्लेअफ खेल्नु पर्ने

रोम । युरोपियन च्याम्पियनसिप २०२० को  विजेता इटाली अर्को वर्ष कतारमा हुने विश्वकपमा सोझै छनोट हुन असफल भएको छ । 

विश्वकपको युरोपियन छनोटअन्तर्गत सोमबार  भएको समूह ‘सी’ को खेलमा रोर्बटो मान्चिनीको टोली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो । 

सोही समूहमा स्विट्जरल्यान्डले बुल्गेरियालाई ४-० ले पराजित गर्दै शीर्ष टोलीको रुपमा कतार विश्वकप २०२२ को टिकट काटेपछि दोस्रो स्थानको इटाली प्लेअफ खेल्न बाध्य भएको हो ।

समूहको शीर्ष स्थानमा रहेको स्विट्जरल्यान्डले आठ खेलबाट १८ अंक जोड्यो । त्यस्तै दोस्रो स्थानको इटालीले समान खेलबाट १६ अंक मात्र जोड्न सक्यो । तालिकाको तेस्रो स्थानको नर्दन आयरल्यान्डले नौ अंक जोड्दा चौथो स्थानको बुल्गेरियाले आठ अंक जोडेको छ ।

युरोपियन छनोटअन्तर्गत सोमबार सम्पन्न समूह ‘एफ’ का खेलमा स्कटल्यान्डले डेनमार्कलाई २-० , इजरायलले फारोइ आइसल्यान्डलाई ३-२  र अस्ट्रियाले मोल्दोभालाई ४-१ ले पराजित गरेको छ ।

समूह ‘एफ’बाट यसअघि नै डेनमार्कले विश्वकपको टिकट काटिसकेको छ ।