नेपाली फुटबल

एन्फामाथि भएको कारबाहीको विषयमा जानकारी गराउन मन्त्रालयको माग

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ ( एन्फा) माथि भएको कारबाहीको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग जानकारी माग गरेको छ ।

मन्त्रालयले मंगलबार पत्र लेख्दै स्वीकृति नलिइकन  विश्वकप छनोटमा पदाधिकारी पठाउने एन्फालाई कानुन अनुसार कारबाही गरेर जानकारी गराउन निर्देशन दिए पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको भन्दै राखेपसँग जवाफ मागेको हो ।  

मन्त्रालयले एन्फामाथि गरिएको कारबाहीको जानकारी अविलम्ब गराउन राखेपलाई पत्राचार गरेको छ ।

फिफा विश्वकप छनोटमा खेलाडी र आवश्यक अफिसियलका अतिरिक्त अनावश्यक ब्यक्ति बहराइन जाने भएपछि मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । मन्त्रालयले खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृति नलिएर विदेश पठाउने एन्फाको कदममाथि कारबाहीका लागि निर्देशन दिएको थियो । मन्त्रालयको ध्यानाकर्षण र परिषद्को स्वीकृति विनै एन्फाका अतिरिक्त १० अधिकारी बहराइन गएका  थिए ।

मन्त्रालयको निर्देशन पश्चात राखेपले पटक पटक एन्फासँग स्पष्टिकरण सोधेको थियो । राखेपले  एन्फाले पठाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको ठहर गरेको छ । तर सचेत गराउने बाहेक अन्य कारबाहीको विषय सार्वजनीक भएको छैन ।