बार्सिलोना

मेसीले क्लब छाडेको चार वर्षपछि बार्सिलोना अन्तिम आठमा

काठमाडौं । पूर्व कप्तान लियोनल मेसीले क्लब छाडेको चार वर्षपछि क्याटलान क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई ३–१ ले पराजित गरेको हो । समग्रमा बार्सिलोना ४–२ ले विजयी भयो ।

बार्सिलोना चार वर्षपछि क्वार्टरफाइलनमा प्रवेश गरेको हो । मेसीले चार वर्षअघि बार्सिलोना छाडेपछि यो क्लब अन्तिम आठमा पुग्न असफल हुँदै आएको थियो । जाभी हर्नान्डेजले क्लब छाड्ने घोषणा गरेपछि क्लब प्रि क्वार्टरफाइलबाट माथि बढ्न सकेको हो । सन् २०२० मा बार्सिलोनाले अन्तिम आठमा प्रतिस्पर्धा गरेको थियो ।

मेसी भने पेरिस सेन्ट जर्मेन (पिएसजी) हुँदै हाल अमेरिकी लिग सकरमा इन्टर मियामीको लागि खेल्दै आएका छन् । जहाँ बार्सिलोनाकै पूर्व खेलाडीहरु लुइस स्वारेज, सर्जियो बुस्क्वेट र जोर्डी अल्बा रहेका छन् ।

घरेलु मैदानमा दुई मिनेटभित्र दुई गोल गरेपछि बार्सिलोनाले खेल नियन्त्रणमा राखेको थियो । १५औं मिनेटमा फेर्मिन लोपेजले पहिलो गोल गरे । राफिन्हाको पासमा गोल गर्दै उनी कम उमेरमा नकआउट चरणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनी भर्खर २० वर्षका भए ।

दुई मिनेटपछि नै जोआओ कन्सेलोले गोल गरे । ३०औं मिनेटमा अमिर रहमानीले गोल गरेपनि नापोली खेलमा फर्कन सकेन । ८३औं मिनेटमा वैकल्पिक खेलाडी सर्जी रोबर्टाेको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका हुन् ।