आर्सनल

आर्सनल १४ वर्षपछि क्वार्टरफाइनलमा

काठमाडौं । ९ मार्च २०१० मा निक्लास बेन्डट्नेरले पेनाल्टीमा गोल र ह्याट्रिक पूरा गरेपछि आर्सनल एफसी पोर्टोलाई ५–० ले हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

ठिक १४ वर्षपछि पुनः आर्सनल युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्यो पनि पोर्टाेलाई नै हराए । यसपटक आर्सनलले जित निकाल्न पेनाल्टी सुटआउट कुर्न पर्याे ।

निर्धाारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टी सुटआउटमा आर्सनलका स्पेनिस गोलकिपर डेविड राया नायक बने ।  उनले पोर्टाेका दुई खेलाडीको पेनाल्टी बचाउँदै टोलीको उद्धार गरेका हुन् । 

राया सन् २०१२ पछि च्यापियन्स लिगमा पेनाल्टी सुटआउटमा दुई पेनाल्टी रोक्ने खेलाडी बनेका छन् ।

पेनाल्टी सुटआउटमा आर्सनल ४–२ ले विजयी भयो । यसअघि पोर्टाे पहिलो लेगमा १–०ले विजयी भएको थियो । अवे खेलमा हारेको आर्सनलले होम मैदानमा पुनः बदला लिँदै १–० ले अगाडि बढेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 

‘घरेलु मैदानमा खेलाडीमाथि निकै उर्जा थियो । उनीहरुले राम्रो खेले र १४ वर्षपछि यो नतिजा आएको छ,’ प्रशिक्षक माइकल अर्टेटाले भने । 

मंगलबार नै भएको खेलमा नापोलीलाई हराउँदै स्पेनिस महारथी बार्सिलोनाले अन्तिम आठको यात्रा सुनिश्चित गरेको छ ।