च्याम्पियन्स लिग

सहज जितसँगै सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वार्टरफाइनलको दुबै लेगमा सहज जित निकाल्दै इङ्लिस क्लब म्यानचेष्टर सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सिटीले एफसी कोपेनहागेनलाई ३–१ ले हराएको हो । समग्रमा सिटी ६–२ ले विजयी भयो । पहिलो लेगमा सिटी ३–१ ले नै विजयी भएको थियो ।

घरेलु मैदान इत्तिहादमा भएको दोस्रो लेगमा सिटीलाई जित दिलाउन मानुयल एकान्जी, जुलियन अल्भारेज र एर्लिङ हाल्यान्डले समान एक गोल गरेका हुन् । भ्रमणकारी टोलीको लागि मोहम्मद एल्युनौसीले एक गोल फर्काए ।

खेलका चारै गोल पहिलो हाफमा सम्भव भएका थिए । खेलको पाँचौं मिनेटमा जुलियन अल्भारेजको पास सदुपयोग गर्दै एकान्जीले अग्रता बनाएका हुन् । अल्भारेजले नवौं मिनेटमा दोस्रो गोल गरे । मोहम्मदले २९औं मिनेटमा अग्रता २–१ मा झारेका हुन् । पहिलो हाफको इन्जुरी समयमा रोड्रिको पासमा हाल्यान्डले तेस्रो गोल गरेका थिए ।

राति नै भएको खेलमा रियाल मड्रिड र आरबी लाइपजिगले १–१ को बराबरी खेले । तर, पहिलो लेगमा जित निकालेको रियाल अर्काे चरणमा प्रवेश गरेको हो ।

मंगलबार राति भएको खेलमा विजयी हुँदै बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पिएसजी अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।