युइएफए च्याम्पियन्स लिग

रियाल क्वार्टरफाइनलमा

काठमाडौं । स्पेनिस महारथी रियाल मड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । अन्तिम १६ को दोस्रो लेगमा सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लाइपजिकसँग १–१ को बराबरी खेल्दै अंक बाढेको थियो । तर, पहिलो लेगमा निकालेको १–० को जित रियालको लागि फाइदा रह्यो ।

घरेलु मैदानमा रियाललाई खेल नियन्त्रणमा राख्न हम्मेहम्मे परेको थियो । कार्लाे एन्सेलोटीको टोलीले निकै अवसर बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

जुड वेलिंघम, फेडेरिको भाल्भर्डे, टोनी क्रुस जस्ता खेलाडी गोलबाट टाढा रहे । सान्तियागो बर्नाबेउमा  दोस्रो हाफमा मात्रै गोल भएको थियो ।

भिनियस जुनियरले ६५औं मिनेटमा अग्रता बनाएका थिए । वेलिंघमको पास सदुपयोग गर्दै उनले गोल गरेका हुन् । विलि ओर्बानले ६८औं मिनेटमै बराबरी गोल फर्काएका हुन् । बाँकी समयमा दुबै टोलीले गोल गर्न सकेनन् ।

राति नै भएको अर्काे खेलमा साविक विजेता म्यानचेष्टर सिटीले एफसी कोपेनहागेनलाई ३–१ ले हराएको हो । समग्रमा सिटी ६–२ ले विजयी भएको हो । पहिलो लेगमा सिटी ३–१ ले नै विजयी भएको थियो ।

मंगलबार राति भएको खेलमा विजयी हुँदै बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) अन्तिम आठमा प्रवेश गरिसकेका छन् । अब, चार टोलीको टुंगो लाग्न बाँकी छ ।