प्रीति राई

प्रीतिको शल्यक्रिया आज हुँदै, कम्तिमा आठ महिना मैदान बाहिर हुन सक्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य प्रीति राईको घुँडाको आज (सोमबार) शल्यक्रिया हुने भएको छ ।

सातदोबाटोस्थित बिएण्डबी अस्पतालमा हुने शल्यक्रिया हुन लागेको एन्फा स्रोतले जनाएको छ । स्रोतको अनुसार उनको अवस्था गम्भीर खालको रहेको छ । उनी कम्तिमा पनि आठ महिना मैदान बाहिर हुने देखिएको छ ।

‘आज ११ बजे शल्यक्रिया हुँदैछ । सुरुआतमै आठ महिना बाहिर हुन सक्ने भनिएको छ । शुल्यक्रिया र रिह्याबपछि मात्रै कहिले फर्कन सक्छिन् थाहा हुन्छ,’ एन्फा स्रोतले भन्छन् ।

वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइलनमा जोर्डनविरुद्ध खेल्दा प्रीतिको घुँडामा चोट लागेको थियो । दोस्रो हाफमा उनी खेल्न सकिनन् ।

मैदानमै प्राथमिक उपचारपछि उनलाई खेलाउने तयारी गरिएको थियो । तर, ५–७ मिनेटसम्म  पनि उनी तयार नभएपछि प्रशिक्षक राजेन्द्र तामाङले प्रीतिको स्थानमा ७५औं मिनेटमा अनिता केसीलाई मैदान पठाएका थिए ।

फाइनलमा नेपाल ५–३ ले पेनाल्टीमा पराजित हुँदा उपाधिबाट टाढा रहेको थियो । यसअघि सेमिफाइनलको इन्जुरी समयमो गोल गर्दै प्रीतिले नेपाललाई जित दिलाएकी थिइन् ।

यसअघि प्रीतिको एएफसी यु–२० महिला एसियन छनोट खेल्दा खुट्टा भाचिएको थियो । प्यालेस्टाइनविरुद्ध घाइते भएपछि कप्तान प्रीति ८६औं मिनेटमा मैदान छाडेकी थिइन् । यसपछि उनले उमेर समूह र राष्ट्रिय टोलीको खेल गुमाएकी हुन् । त्यति बेला पनि उनी ६ महिना बाहिर बसेकी थिइन् । 

प्रीति भारतीय महिला लिगमा किक स्टार्सबाट खेल्दै आएकी छिन् । वाफ महिला च्याम्पियनसिपमा घाइते भएपछि आईलिगको बाँकी खेल गुमाउनेछिन् । उनीसँगै टोलीमा समावेश दीपा शाही भने मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछिन् ।