नेपाली फुटबल

तीन महिना बाहिर बस्नुपर्ने भयोः प्रीति

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य प्रीति राईको घुँडाको सोमबार शल्यक्रिया हुने भएको छ ।

सातदोबाटोस्थित बि एण्ड बी अस्पतालमा हुने शल्यक्रिया हुन लागेको हो । प्रीतिले बाहिर हल्ला आए जस्तो गम्भीर चोट नभएकाले तीन महिनामै मैदान फर्किन बताएकी छन् ।

‘लिगामेन्टको शल्यक्रिया हुदैछ । तीन महिना बाहिर बस्नुपर्ने भयो । बाहिर हल्ला भए अनुसार ठूलो चोट हैन,’ प्रीतीले भनिन् ।

यसअघि एन्फा स्रोतले प्रीतीको चोट गम्भीर रहेकाले उनलाई मैदान फर्किन कम्तिमा आठ महिना लाग्न सक्ने बताएको थियो ।

‘उनको चोट हामीले सोचेजति र पहिला डाक्टरहरुले भने जस्ताे खतरा रहेनछ । उनी तीन महिनापछि मैदान फर्किन सक्ने बताइएको छ । यो हाम्रो लागि खुसीको कुरा हो,’ स्रोतले भन्यो ।

वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइलनमा जोर्डनविरुद्ध खेल्दा प्रीतिको घुँडामा चोट लागेको थियो । दोस्रो हाफमा उनी खेल्न सकिनन् ।

सिरियाविरुद्ध प्रतिस्पर्धा गर्दै प्रीति राई

मैदानमै प्राथमिक उपचारपछि उनलाई खेलाउने तयारी गरिएको थियो । तर, ५-७ मिनेटसम्म  पनि उनी तयार नभएपछि प्रशिक्षक राजेन्द्र तामाङले प्रीतिको स्थानमा ७५औं मिनेटमा अनिता केसीलाई मैदान पठाएका थिए ।

फाइनलमा जोर्डनसँग पेनाल्टीमा नेपाल ५-३ ले  पराजित हुँदा उपाधिबाट टाढा रहेको थियो । यसअघि प्यालेस्टाइनविरुद्ध सेमिफाइनलको इन्जुरी समयमा गोल गर्दै प्रीतिले नेपाललाई जित दिलाएकी थिइन् ।

यसअघि प्रीतिको एएफसी यु-२० महिला एसियन छनोट खेल्दा खुट्टा भाचिएको थियो । त्यति बेला पनि उनी ६ महिना मैदान बाहिर थिइन् ।

चोटसँगै प्रीतिले प्रीति भारतीय महिला लिगको बाँकी खेल गुमाउने छिन् । उनी किक स्टार्सबाट लिग खेल्दै आएकी थिइन्।