इङ्लिस प्रिमियर लिग

म्यानचेष्टर डर्बीमा सिटीको सानदार जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेष्टर डर्बीमा सिटीले सानदार पुनरागमन जित निकालेको छ । आइतबार राति सिटीले युनाइटेडलाई घरेलु मैदानमा ३–१ ले हराएको हो । एक गोलले पछि परेको स्थितिमा सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो ।

जितसँगै सिटी २७ खेलबाट ६२ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट ४४ अंकसहित युनाइटेड ४४औं स्थानमा रह्यो । ६३ अंकको लिभरपुल भने शीर्ष स्थानमा छ ।

इत्तिहाद मैदानमा पेप ग्वार्डिओलाको सिटीलाई जिताउन फिल फोडेनले दुई तथा एर्लिङ हाल्यान्डले एक गोल गरेका हुन् । युनाइटेडको लािग मार्कुस रसफोर्डले एक गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा काउन्टर अट्याकबाट युनाइटेडले अग्रता बनायो । ब्रुनो फर्नान्डेजको पासमा रसफोर्डले ३० यार्डबाट हानेको शक्तिशाली प्रहार सिधै जाली चुमेको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गरेको हो । फोडेनले ५६औं मिनेटमा राड्रीको पासमा गोल गरे । ८०औं मिनेटमा अर्जेन्टिनी स्टार जुलिअन अल्भारेजको पासमा गोल गर्दै सिटीलाई २–१ ले अगाडी बनाएका हुन् । रोड्रीकै पासमा हाल्यान्डले इन्जुरी समयमा गोल गर्दै सिटीलाई सहज जित दिलाए ।