इङ्लिस प्रिमियर लिग

चेल्सी रोकियो, लिभरपुलको कठिन जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले कठिन जित निकाल्दा चेल्सी भने बराबरीमा रोकिएको छ । राति चेल्सी ब्रेन्टफोर्डसँग २–२ को बराबरीमा रोकिएको हो ।

खेलमा चेल्सीले अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन । निकोलस ज्याक्सनले ३५औं मिनेटमा अग्रता दिलाएका थिए । ५०औं मिनेटमा माड्स रोइसर्लेभले बराबरी तथा योअन विसाले ६९औं मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ को अग्रता दिलाएका थिए । तर, ८३औं मिनेटमा एलेक्स डिसासीले गोल गर्दै चेल्सीको हार टारेका हुन् ।

अर्काे खेलमा लिभरपुलले नटिंघम फोरेष्टलाई १–० ले हरायो । ९० मिनेटको खेल गोलरहित बराबरीमा चलिरहेको थियो । इन्जुरी समयको ९ मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् । अर्जेन्टिनी स्टार एलेक्सिस म्याक एलिस्टरले मिलाएको पासलाई नुनेजले सदुपयोग गरेका हुन् ।

राति नै भएको खेलमा न्युक्यासलले उल्भ्सलाई ३–०, टोटनहमले क्रिष्टल प्यालेसलाई ३–१, एस्टन भिल्लाले लुटन टावनलाई ३–२, फुलहमले ब्राइटनलाई ३–०, वेष्ट हम युनाइटेडले एभर्टनलाई ३–१ ले हराए ।