युरोपियन च्याम्पियन्स लिग

बायर्न लाजियोसँग पराजित

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्रि क्वार्टरफाइनलको पहिलो लेगमा लाजियोसँग १–० ले पराजित भएको छ ।

बुधबार राति १० खेलाडीमा सिमित बायर्न इटालियन सिरी ए क्लबसँग स्तब्ध बनेको हो । ५७ हजार चार सय समर्थकमाझ लाजियोले दोस्रो हाफमा अग्रता बनाएको थियो ।

पहिलो हाफमा दुबै टोलीले गोलका अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । खेलको ६९औं मिनेटमा घरेलु टोलीका किरो इमोबिलले पेनाल्टीमा गोल गरेका थिए ।

६७औं मिनेटमा डेयोट उपमेकानोले लाजियोका अट्याकर इसाक्सेनलाई बक्सभित्र पाउल गरेपछि पेनाल्टी अवसर पाएको थियो ।

बायर्नले पछिल्लो पाँच दिनमा दोस्रो हार बेहोरेको हो । तीनदिनअघि मात्रै बुन्डेसलिगामा बायर लेभरकुसेनसँग ३–० ले हार बेहोरेको थियो । दोस्रो लेगमा प्रशिक्षक थोमस टुचेल दबाबमा हुनेछ । दोस्रो लेग म्युनिखमा मार्च पाँचमा हुनेछ ।

लाजियोविरुद्ध ह्यारी केन, लिरोय साने, जमल मुसियला, जोसुवा किमिचीजस्ता खेलाडी गोलगर्न असफल भएका हुन् ।