इङ्लिस प्रिमियर लिग

चेल्सीको सहज जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको हो ।

जितपछि चेल्सी २४ खेलबाट ३४ अंकसहित दशौं स्थानमा छ । उसले समान १० खेलमा जित र हार बेहोर्दा चार खेल बराबरी खेल्यो । प्यालेस समान खेलबाट २४ अंकसहित १५औं स्थानमा छ । ५४ अंकसहित लिभरपुल शीर्ष स्थानमा रहेको छ ।

२५ हजार घरेलु समर्थकमाझ प्यालेसले नै खेलमा अग्रता बनाएको थियो । जेफर्सनले लेर्मले ३०औं मिनेटमा गोल गरेका हुन् । तर, दोस्रो हाफको दोस्रो मिनेटमै कानर घल्लाघेरले बराबरी गोल फर्काएका हुन् । उनलाई मालो गुस्टोले बल उपलब्ध गराएका थिए ।

९० मिनेटसम्म खेल १–१ को बराबरीमा रहँदा इन्जुरी समयमा दुई गोल भएका थिए । कोल पाल्मरको पासमा घल्लाघेरले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे । पाल्मरकै पासमा अर्जेन्टिनी स्टार एन्जो फर्नान्डेजले चौथो मिनेटमा गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका हुन् ।