नेफ-ऋत कप फुटबल प्रतियोगिता

नेफ-ऋत कप फुटबलः न्यु एरा र पिस प्वाइन्टको जित

सांकेतिक तस्बिर

काठमाडौं । न्यु एरा र पिस प्वाइन्टले सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।

चावहिल गणेशथान मैदानमा न्यु एराले नेसनल आइडियललाई ३-० ले पराजित गर्यो । विजेता टोलीका लागि पेम्बाले दुई तथा दीपकले एक  गोल गरे । पिस प्वाइन्टले तिलिङटारलाई २-० ले हरायो । पिस प्वायन्टका लागि दुवै गोल हिमाल थिङले गरे ।

उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्धारा संयुक्त आयोजित प्रतियोगिताका अन्य खेलमा सांग्रिला, ग्रिनल्यान्ड र नोब्स विजयी भए ।

सांग्रिलाले साइपाल एकेडेमीमाथि ६-० को सहज जित दर्ता गर्यो ।  विजेता टोलीका लागि चूडामणि राई र गम्भीर तामाङले समान दुई तथा नुर्बु शेर्पा र अनिल बसेलले समान एक गोल गरे । ग्रिनल्यान्डले सारथीलाई ४-१ ले स्तब्ध बनायो । ग्रिनल्यान्डका लागि चारै गोल युवराज श्रेष्ठको नाममा रह्यो । सारथीका विश्वराज राईले सान्त्वना गोल गरे ।

नोब्सले पृथ्वीलाई ३-१ ले हरायो  । नोब्सका जेनिश धिमालले दुई तथा जीवन बोगटीले एक गोल गरे । पृथ्वीका सौरव सिंहले एक गोल फर्काए । एनआइसीले नवोदित तथा बलबसियाले बेलमाउन्टबाट वाक ओभर पाए ।