इटालियन सिरी ए

रेफ्रीको गलत निर्णयले दुई अंक गुमायौः इन्जाघी

मिलान । विवादास्पद पेनाल्टीमा अंक बाँड्न बाध्य भएपछि इन्टर मिलानका प्रशिक्षक सिमानी इन्जाघीले आफुहरुविरुद्ध युभेन्टसले पेनाल्टीमा बाहेक गोल गर्न नसक्ने दाबी गरेका छन् ।
 सान सिरोमा आइतबार सम्पन्न इटालियन सिरी ‘ए’ को खेलमा इन्टर र युभेन्टसले १-१ को बराबरी खेले । 

सिजनको खराब सुरुआत गरेको मासिमिलियानो एलेग्रीको टोलीले आफ्नो खातामा थप एक अंक जोड्यो ।
१७औं मिनेटमा इडेन जेकोको गोलमा इन्टरले अग्रता लियो । तर खेल सकिन एक मिनेट बाँकी हुँदा पाबलो डिबालाले पेनाल्टीको सदुपयोग गर्दै युभेन्टसलाई हारको संघारबाट जोगाएका थिए ।

इन्टरका डेन्जल डम्फ्राइसले एलेक्स सान्ड्रोमाथि फाउल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । 

रेफ्री माउरिसियो मराइनीले भिएआरको सहयोगमा इन्टरविरुद्ध पेनाल्टी दिएका थिए । रेफ्रीको निर्णयमा असन्तुष्ट बनेका इन्जाघीले खेल भावना विपरितको कार्य गरेपछि माउरिसियोले उनलाई रातो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाएका थिए ।

इन्जाघीले आफुहरु स्पष्ट तीन अंकको हकदार भएपनि रेफ्रीको गलत निर्णयले अंक बाँड्नु परेको बताए । उनले आफूले देखाएको व्यवहरप्रति भने माफी मागे ।

‘हामीविरुद्ध युभेन्टसका लागि पेनाल्टी गोल मात्र सम्भव थियो,’ इन्जाघीले भने, ‘हामीले राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने संकेत गरिसकेका थियौ । रेफ्रीको गलत निर्णयले हामीले दुई अंक गुमाउनु परेको छ । खेलको अन्तिममा रेफ्रीले जितिसकेको टोलीलाई अंक बाँड्न बाध्य पार्छ भने एउटा प्रशिक्षक रिसाउनु सामान्य हो ।’

इन्टर नौ खेलमा १८ अंक जोड्दै तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली र दोस्रो स्थानको एसी मिलान भन्दा सात अंक कम हो । युभेन्टस भने सामान खेलमा १५ अंक जोड्दै छैटौं स्थानमा छ ।