उपमेयर कप राष्ट्रिय महिला फुटबल

कन्काई र बागमती भिड्दै

काठमाडौ । झापाको कन्काइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच सोमबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा आमने सामने हुँदा समूह विजेता बन्ने लक्ष्यमा हुनेछन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने दिनको दोस्रो खेल दिउँसो १२ बजे हुनेछ ।

समूह ‘ए’ मा यी दुई  टोलीले दुई खेलबाट समान ६ अंक जोडेका छन् । यो खेलको विजेताले समूह विजेतासँगै नकआउट चरण प्रवेश गर्ने टोलीको टुङगो लगाउने छ ।  

सोमबार हुने  पहिलो खेल बिहान ९ बजे महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाबीच हुनेछ । दुवै टोली अंकविहिन रहदै समूह चरणबाट यसअघि नै बाहिरिसकेका छन् । त्यसैले यी दुई टोलीबीचको खेल प्रतिस्ष्ठाको लडाँई हुनेछ ।

अन्तिम खेल दिउँसो ३ बजे समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले समूह विजेता बन्दै नकआउट चरणमा स्थान पक्का गर्नेछ ।

कालिका र ललितपुर नगरपालिकाले एक खेलबाट समान तीन अंक जोडेका छन् । भने कागेश्वरी नगरपालिका दुई खेलमा अंकविहिन रहदै समूह चरणबाट बाहिरिसकेको छ ।

यसअघि आइतबार समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिका र समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिकाले  समूह विजेताका रुपमा नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।

उपमेयर कपको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन् ।