इङ्लिस प्रिमियर लिग

युनाइटेडमाथि लिभरपुलको प्रभावशाली जित

म्यानचेस्टर । मोहम्मद सालाहको ह्याट्रिक प्रेरित लिभरपुलले इङ्लिस प्रिमियर लिगको खेलमा आइतबार राति चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि ५-० को रवाफिलो जित हासिल गरेको छ ।

ओल्ड ट्राफोर्ड भ्रमणमा सालाहकै पासमा नाबी केइटाले गोल गर्दै पाँचौं मिनेटमै योर्गान क्लोपको लिभरपुललाई अग्रता दिलाएका थिए । ट्रेन्ट एलेक्जेन्डर आनोल्डको पासलाई डियोगो जोटाले गोल गर्दै १३औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाए ।

केइटाको पासलाई गोलमा परिणत गर्दै मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा सालाहले लिभरपुलको अग्रता ३-० ले फराकिलो पारे ।

सालाहले जोटाको पासमा पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरे भने जोर्डन हेन्डरसनको पासमा ५०औं मिनेटमा ह्याट्रिक गर्दै सालाहले लिभरपुललाई ५-० को फराकिलो अग्रता दिलाए ।

क्रिस्टियानो रोनाल्डोले ५२औं मिनेटमा एक गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)ले त्यसलाई मान्यता नदिँदा युनाइटेडका घरेलु समर्थक थप निराश बने ।

युनाइटेडका खेलाडीले ६ पहेलो कार्ड सामना गरेको खेलमा पाउल पोग्बाले रातो कार्ड सामना गर्दै मैदान छोड्नु परेको थियो । नाबी केइटामाथि ६०औं मिनेटमा गम्भीर फाउल गरेवापत पोग्बाले रातो कार्ड सामना गरेका थिए । रेफ्रीले सुरुमा त्यो फाउलका लागि पोग्बालाई पहेलो कार्ड देखाएका थिए । तर पछि भिएआरको सहयोगमा उनले पोग्बालाई सोझै रातो कार्ड दर्शन गराए ।

युनाइटेडका ल्युक शाँ, क्रिस्टियानो रोनाल्डो, फ्रेड, ब्रुनो फर्नान्डेज, ह्यारी मागुइर र आरोन वान बिसाकाले पहेलो कार्ड दर्शन गरेका थिए ।

युनाइटेडको हुर्मत लिएपछि लिभरपुलले नौं खेलमा २१ अंक जोड्दै प्रिमियर लिगको शीर्ष टोली चेल्सीसँगको दुरी एक अंकमा घटाएको छ । जारी सिजनमा खराव प्रदर्शन गरेको युनाइटेड भने १४ अंकका साथ नवौं स्थानमा सीमित छ ।