इरानलाई चुनौती दिन तयार छौंः प्रशिक्षक महर्जन

काठमाडौं । नेपाली यु-२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले इरानविरुद्ध कडा टक्कर दिन तयार रहेको बताएका छन् । 

एएफसी एसिया यु-२३ कप छनोटमा नेपालले सोमबार ताजकिस्तानमा इरानविरुद्धको खेलबाट प्रतियोगितामा आफ्नो यात्रा सुरुआत गर्नेछ । 

‘हामीसँग छनोटको प्रशिक्षणका लागी थोरै समय थियो तर पनि हामी उत्कृष्ट प्रदर्शन गर्न तयार छौं,’ महर्जनले भने, ‘ महत्वपूर्ण खेलाडीहरु साफ च्याम्पियनसिपमा रहँदा टोलीले एक साथ प्रशिक्षण गर्न थोरै समय पायो । टोलीमा अहिले राम्रो तालमेल छ र प्रभाव पनि सकारात्मक छ ।’

उनले नेपालको समूहमा रहेका तीनै प्रतिस्पर्धी उत्कृष्ट रहेको वास्तविकता आफूहरुले स्विकार गर्नुपर्ने समेत बताए । 

उनले भने, ‘समूहका तीनै टोलीको खेलस्तर निकै राम्रो छ । हामीले यो वास्तविकतालाई स्विकार गर्दै राम्रो नतिजातर्फ केन्द्रित हुन आवश्यक छ । हामी आफ्नो उत्कृष्ट दिने छौं ।’

त्यस्तै नेपालका कप्तान अर्पण कार्कीले आफूहरु कडा प्रतिस्पर्धाका लागी तयार रहेको बताए । 

‘हामीले राम्रो गरिरहेका छौं, टोलीले एकरुपता साथ प्रशिक्षण गरेको छ,’ अर्पणले भने, ‘इन्डोनेशियाविरुद्धको मैत्रीपूर्ण खेलले हामीलाई आफुले चाहिएको नतिजाका लागी प्रतिस्पर्धा गर्न निकै सहयोग पुर्याएको छ । हामी तयार छौं ।’