उपमेयर कप राष्ट्रिय महिला फुटबल

बाँसगढी दोस्रो जितको खोजीमा

काठमाडौ । स्याङ्जाको पुतलीबजार नगरपालिकाविरुद्ध आइतबार मैदान उत्रदा बर्दियाको बाँसगढी नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा  लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

बाँसगढीले पहिलो खेलमा भक्तपुर नगरपालिकामाथि १२-० को जित निकाल्दै तीन अंक जोडिसकेको छ ।  पुतलीबजारको भने यो पहिलो खेल हो ।

प्रतियोगिताको दोस्रो खेल समूह ‘डी’ अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका र नवलपुरको देवचुली नगरपालिकाबीच हुनेछ । 

शिवसताक्षी पनि जित यात्राको निरन्तरता दिन चाहन्छ । पहिलो खेलमा शिवसताक्षीले कैलालीको जानकी नगरपालिकालाई ४-० ले हराएको थियो । खेल दिउँसो १२ बजे हुनेछ ।

यस्तै अन्तिम खेल दिउँसो ३ बजे समूह ‘इ’ को काठमाडौं महानगरपालिका र इलामको रोङ गाउँपालिकाबीच हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ ।