संन्यासको तयारीमा स्वारेज र काभानी
रियो दी जेनेरियो, (खेलाडी)- उरुग्वेका फरवार्डद्धय लुइस स्वारेज र इडिसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत गरेका छन् ।
एट्लेटिको मड्रिडका फरवार्ड स्वरेजले ब्राजिलमा जारी कोपा अमेरिकामा अर्जेन्टिनाविरुद्ध खेल्नुअघि भने, ‘उमेरका कारण मेरा लागि खेलाडीका रूपमा यो अन्तिम कोपा अमेरिका हो । अब खेलाडी जीवनबाट विदा हुने दिन नजिक आउँदै छ । नयाँ पुस्ता ठूलो उत्साह तथा सफलता हासिल गर्ने भोकका साथ आएको छ । मैले उनीहरूका लागि ठाउँ खाली गरिदिनुपर्छ ।’
बार्सिलोनाका ३४ वर्षे पूर्व फरवार्ड स्वारेजले उरुग्वेबाट १ सय ११ खेल खेलिसकेका छन् । उनले देशका लागि ५९ गोल गरेका छन् । गत सिजन बार्सिलोनाबाट एट्लेटिको गएका स्वरेजले ३८ खेलमा २१ गोल गरेका थिए । उनले बार्सिलोना आउनुअघि लिभरपुल र आयाक्सबाट पनि खेलिसकेका थिए ।
म्यानचेस्टर युनाइटेडका फरवार्ड काभानीले पनि खेलाडी जीवनमा यो अन्तिम कोपा अमेरिका भएको बताए । उनले कतार विश्वकप २०२२ खेल्ने आशा गरेका छन् । काभानीले भने, ‘कतार विश्वकपसम्म खेल्न सक्छु भन्ने छ। त्यसपछि खेलाडी जीवनबाट विदा लिएर परिवार, साथीभाईहरुलाई समय दिनुपर्छ। मेरो जस्तै स्वारेजको पनि त्यस्तै हो ।’
फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट गत सिजन स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत युनाइटेड पुगेका काभानीले उरुग्वेबाट १ सय १५ खेलमा ५० गोल गरिसकेका छन् । उनले युनाइटेडमा गत सिजन ३९ खेलमा १७ गोल गरे । पिएसजीमा काभानीले ३ सय १२ खेलमा २ सय ३ गोल गरेका थिए । पिएसजी जानुअघि काभानी इटालियन सिरी ‘ए’को क्लब नेपोलीमा थिए ।