वेल्सको अपराजित यात्रा कायम, नकआउट चरण प्रवेशको सम्भावना बलियो

बाकु, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा अपराजित यात्रालाई कायम राख्दै वेल्सले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । 

बुधबार भएको समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा वेल्सले टर्कीमाथि २-० को जित हासिल गर्‍यो । अघिल्लो खेलमा स्विट्जरल्यान्डसँग १-१ को बराबरी नतिजा निकालेको वेल्स टर्कीमाथिको जितपछि ४ अंकका साथ कम्तिमा तीन घण्टाका लागि भए पनि समूहको शीर्ष स्थानमा उक्लिएको छ । 

पहिलो खेलमा टर्कीलाई ३-० को नतिजामा हराएको इटालीले आजै केहीबेरमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । समूहमा दुई खेलको समाप्तीमा पनि कुनै अंक जोड्न नसकेको टर्कीको भने नकआउट चरण प्रवेश गर्ने सम्भावना क्षिण भएको छ । 

बुधबार वेल्सलाई महत्वपूर्ण तीन अंक दिलाउनका लागि आरोन रामसे र कोनर रोबर्टसले गोल गरेका थिए । गारेथ बेलको पासमा गोल गर्दै रामसेले मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा वेल्सलाई अग्रता दिलाएका थिए । रोबर्टसले पनि बेलकै पासमा गोल गर्दै इन्जुरी समयको पाँचौं मिनेटमा वेल्सको विजयअन्तर फराकिलो पारे । 

वेल्सका दुवै गोलमा भूमिका खेलेका कप्तान बेल आफै भने पेनाल्टीलाई गोलमा परिणत गर्नबाट चुक्दा टोली अझ फराकिलो जितबाट विमुख भयो । ६१औं मिनेटमा बेलले प्रहार गरेको पेनाल्टीले पोष्‍टको दिशा लिन सकेन । 

समूह चरणको अन्तिम खेलमा इटालीले स्विटजरल्यान्ड तथा वेल्सले टर्कीको सामना गर्नेछ ।