नेपाललाई सोझै एसियन कप छनोटको तेस्रो चरण खेल्ने मौका

काठमाडौ, (खेलाडी)- नेपालले एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ ।

एएफसीले बुधबार एसियन कप छनोटको ढाचा परिमार्जन गरेसँगै नेपालले एसियन कप छनोटका लागि अर्को अवसर पाएको हो । कतार र चीनले विश्‍वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्र्र्दै एसियन कपमा स्वत छनोट भएपछि एएफसीले यसअघिको प्रावधानमा परिवर्तन गरेको हो ।

एएफसीले यसअघि सार्वजनिक गरेको संरचनाअनुसार छनोट चरणमा सहभागी ८ समूहका शीर्ष टोलीका साथै दोस्रो स्थानमा रहने उत्कृष्‍ट ५ टोलीले विश्‍वकपको तेस्रो चरणमा प्रवेश गर्दै एसियन कप २०२३ को स्वत टिकट काट्ने व्यवस्था थियो ।

त्यस्तै दोस्रो स्थानमा रहने टोली मध्ये बाँकी रहेका ३ टोली, तेस्रोे स्थानमा ८ टोली र चौथो स्थानमा रहने टोली मध्येको उत्कृष्‍ट ४ टोली गरि कुल १५ टोली एसियन कप छनोटको तेस्रो चरण प्रवेश गर्ने प्रावधान थियो । चौथो स्थानमा रहने बाँकी ४ टोली र पाचौं स्थानका ८ टोलीले भने प्लेअफमार्फत एसियन कपको तेस्रो चरणका लागि प्रतिस्पर्धा गर्नुपर्ने नियम थियो ।

कतार विश्‍वकप २०२२ तथा चीन एसियन कप २०२३ को छनोट चरणमा नेपालले समूह ‘बी’मा ६ अंकका साथ चौथौ स्थानमा बस्दै आफ्नो यात्रा टुङगाएको थियो । छनोट चरणको सुरुआती पाँच खेल (४ अवे र १ होम म्याच)मा ३ अंक जोडेको थियो । कोभिड १९ को दोस्रो महामारीका कारण एएफसीले सेन्ट्रल भेन्युमा छनोट चरणका बाँकी खेल खेलाउने निर्णय गरेको थियो । जसअन्तर्गत नेपालले छनोट चरणका बाकी तीन घरेलु खेल कुवेतमा खेलेको थियो । यस्तोमा नेपालले लिएको एउटै लक्ष्य थियो चौथौ स्थानमा रहने टोली मध्ये उत्कृष्‍ट ४ भित्र पर्दै स्वत एसियन कप छनोटको तेस्रो चरण प्रवेश गर्ने  ।

कुवेतमा भएको पहिलो खेलमा नेपालले पाँचौ स्थानमा बसेको चाइनिज ताइपेईमाथि जितका साथ आफ्नो खातामा थप ३ अंक जोड्यो । ६ अंकका साथ चौथो स्थानमा बसेको नेपालको चौथो स्थानको टोली मध्ये उत्कृष्‍ट ४ मा पर्दै एसियन कप छनोटको तेस्रो चरण प्रवेशको सम्भावान कायम थियो र नेपालसामू त्यो लक्ष्य पूरा गर्न दुई खेल (जोर्डन र अस्ट्रेलिया)विरुद्धको खेल बाँकी नै थियो । तर समूह ‘एच’को पाँचौ स्थानमा रहेको उत्तर कोरियाले अन्तिम समयमा छनोट चरणका बाँकी खेल नखेल्ने घोषणा गरेसँगै एफसीले पाँचौ स्थानको टोलविरुद्धको नतिजालाई एसियन कप छनोटको लागि मान्यता नदिने जनाएपछि नेपालको तेस्रो चरण प्रवेश सम्भावना क्षिण बनेको थियो ।

छनोटका बाँकी रहेका जोर्डन र अस्ट्रेलियाविरुद्धको खेल गमुाएपछि नेपालको उत्कृष्‍ट ४ भित्र बस्दै स्वत एसियन कप छनोटको तेस्रो चरण प्रवेशको सम्भावना लगभग सकिएको थियो । नेपालले एसियन कप छनोटको तेस्रो चरणका लागि प्लेअफमार्फत जानु पर्ने समिकरण बनेको थियो । 

बुधबारबाट विश्‍वकप २०२२ तथा एसियन कप २०२३ का छनोट खेलहरु समापन भए । समूह ‘ए’ बाट सिरिया यसअघि नै शीर्ष टोलीको रुपमा विश्‍वकप छनोटको अन्तिम चरणमा प्रवेश गरिसकेको थियो । चीनले बुधबार समूह ‘ए’ को उपविजेता र कतारले समुह ‘इ’ को विजेताका रुपमा विश्‍वकप छनोटको अन्तिम चरणमा स्थान बनाएको थियो । यससँगै एएफसीले २०२३ को एसियन कप छनोट तेसो चरण प्रवेश गर्ने टोली संरचनामा परिवर्तन गरेको हो ।

एएफसीको नयाँ संरचना अनुसार दोस्रो स्थानमा बस्‍ने अन्तिम ३ टोलीका साथै, तेस्रो र चौथो स्थानमा‍ बस्‍ने समान ८ टोली र पाँचौ स्थानमा बस्‍ने ३ टोली गरि २२ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । कुल २४ टोलीबीच हुने तेस्रो चरणको प्रतिस्पर्धाका लागि वरियताको पुछारमा रहेका चार टोलीमध्ये दुई प्लेअफमार्फत छानिनेछन् ।

एएफसीको नयाँ व्यवस्थाअनुसार २०२३ को एसियन कप छनोटको तेस्रो चरणका लागि दोस्रो स्थान हासिल गरे पनि उत्कृष्‍ट पाँचभित्र पर्न असफल तीन टोली ताजकिस्तान, कीर्गिस्तान र कुवेतसँगै दोस्रो चरणको छनोटमा आआफ्नो समूहमा तेस्रो स्थान हासिल गर्ने फिलिपिन्स, जोर्डन, बहराइन, प्यालेस्टाइन, मलेसिया, तुर्कमेनिस्तान, भारत र कीर्गिस्तान छानिएका छन् । 

यसैगरी आआफ्नो समूहमा चौथो स्थान हासिल गर्ने नेपालसहित माल्दिभ्स, हङकङ, सिंगापुर, अफगानिस्तान, मंगोलिया, थाइल्यान्ड र श्रीलंका तथा पाँचौं स्थान हासिल गर्नेमध्ये उत्कृष्‍ट तीन टोली म्यानमार, यमन र बंगलादेश सोझै तेस्रो चरणलाई छानिएका छन् । त्यस्तै एसियाली वरियताको पुछारमा रहेका चार टोली इन्डोनेसिया, कम्बोडिया, ग्वाम र चाइनिज ताइपेईले प्लेअफमार्फत तेस्रो चरणका लागि स्थान खोज्‍नेछन् ।