प्रभावशाली जितसहित च्याम्पियन्स लिग यात्रामा रियालको पुनरागमन

किभ, (खेलाडी)- भिनिसियर जुनियरको दुई गोल प्रेरित रियाल मड्रिडले च्याम्पियन्स लिगमा आफ्नो यात्रा सही ट्रयाकमा फर्काउने क्रममा मंगलबार राति समूह ‘डी’ को खेलमा शाख्तर डोनेश्कमाथि ५-० को एकतर्फी नतिजा हासिल गरेको छ । 

पछिल्लो अवे खेलमा शेरिफसँग स्तब्धतापूर्ण हार भोगेको कार्लो एन्सेलोट्टीको टोलीले मंगलबार किभको ओलम्पिक रंगशालामा कुनै कठिनाई बेहोर्नु परेन । 

मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा सेर्गे क्रिभट्सोभको आत्मघाति गोलबाट अग्रता लिएको रियालले दोस्रो हाफको सुरुमै भिनिसियसले दुई गोल गरेपछि खेल पूर्ण रुपमा नियन्त्रणमा लियो । ५१औं मिनेटमा लुका मोडरिचको पासमा पहिलो व्यक्तिगत गोल गरेका भिनिसियले त्यसको पाँच मिनेटपछि अर्को गोल गरेका थिए । 

भिनिसियसकै पासमा रोडरिगोले ६५औं मिनेटमा रियालका लागि चौथो गोल गरे भने करिम बेन्जेमाले इन्जुरी समयमा गोल थप्दै रियालको जित थप फराकिलो पारे । बेन्जेमाले मार्को एसेन्सियोको पासलाई गोलमा परिणत गरेका थिए ।

मंगलबारै भएको समूहको अर्को खेलमा इडेन जेको र आर्टुरो भिडालले एक गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेपछि इन्टर मिलानले घरेलु मैदानमा एफसी सेरिफमाथि ३-१ को जित हासिल गर्‍यो । 

च्याम्पियन्स लिगका तीन घरेलु खेलमा एउटै गोल गर्न नसकेको इन्टरका लागि भिडालको पासमा जेकोले गोल गर्दै मध्यात्तर हुन ११ मिनेट बाँकी रहँदा अग्रता दिलाएका थिए ।

तर अघिल्लो खेलमा रियाल मड्रिडविरुद्ध विजयी गोल गरेका सेवास्टिन थिलले गोल फर्काउँदै ५२औं मिनेटमा सेरिफलाई बराबरीमा ल्याए । 

जेकोको पासमा भिडालले गोल गर्दै ५८औं मिनेटमा इन्टरको अग्रता पुनस्थापित गरे । जहाँ ६७औं मिनेटमा डेन्जल डुम्फ्रिसको पासमा स्टेफन डी भर्जले गोल गर्दै इन्टरको जित पक्का गरे । 

हारका बावजुद पहिलो दुई खेलमा जित हासिल गरेको सेरिफ ६ अंकका साथ समूह ‘डी’को शीर्ष स्थानमा छ । समान ६ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ । तीन खेलमा चार अंक जोडेको इन्टर तेस्रो स्थानमा रहँदा एक अंकमा सीमित शाख्तर पुछारमा छ ।