फिफा महिला विश्वकप

फिफा महिला विश्वकपः पोर्चुगलको पहिलो जित

काठमाडौं । पोर्चुगलले फिफा महिला विश्वकपमा एतिहासिक जित निकालेको छ ।

न्यूजिल्यान्डको वाइकाटोस्थित एफएमजी रंगशालामा बिहीबार सम्पन्न खेलमा पोर्चुगलले भियतनामलाई २-० ले पराजित गरेको हो । पोर्चुगलको महिला विश्वकपमा पहिलो जित हो । दुवै टोली पहिलो पटक विश्वकप खेल्दै छन् ।

जितसँगै दुई खेलमा तीन अंक जोडेको पोर्चुगलले समूह ‘इ’ बाट अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै राखेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको भियतनाम भने समूह चरणबाटै बाहिरिएको छ ।

पोर्चुगललाई जित दिलाउन तेल्मा इनकार्नाकाओ र फ्रान्सिस्का नाजारेथले समान एक गोल गरे ।

खेलको सातौं मिनेटमा इनकार्नाकाओको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । २१औं मिनेटमा नाजारेथले टोलीको अग्रता दोब्बर बनाइन् ।

त्यसपछि थाप गोल निस्कन नसक्दा पोर्चुगल २-० ले विजयी भयो ।

पहिलो खेलमा पोर्चुगल नेदरल्यान्ड्ससँग १-० र भियतनाम अमेरिकासँग ३-० ले पराजित भएका थिए ।

प्रतियोगिता अन्तर्गत बिहीबार नै सम्पन्न खेलमा नेदरल्यान्ड्स र अमेरिकाले १-१ को बराबरी खेलेका थिए ।