साफ च्याम्पियनसिपमा नेपालको पहिलो हार, फाइनल प्रवेशका लागि अन्तिम खेलसम्म प्रतिक्षा गर्नुपर्ने

काठमाडौं, (खेलाडी)- सुनील क्षाेत्रीकाे गाेलमा भारतले नेपालमाथि १-० काे जित हासिल गर्दै फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

प्रतियोगिताको तेस्रो खेलमा आइपुग्दा सतप्रतिसत नतिजायात्रामा पूर्णविराम लागेपछि नेपाल भने पहिलो चरणको एक खेल बाँकी रहँदै फाइनल पुग्नबाट बञ्चित भयो ।  

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सको मालेमा समय सकिन आठ मिनेट बाँकी रहँदा सुनीलले भारतका लागि गोल गरेका थिए । यसअघी पाएका थुप्रै अवसर खेर फालेको भारतका लागि कप्तानले अन्तिम समयमा गोल गर्दै टोलीको फाइनल पुग्ने सम्भावना जीवित राखेका थिए । 

सात पटकको च्याम्पियन भारतलाई पहिलो हाफसम्म बराबरीमा रोक्दै नेपाली राष्ट्रिय फुटबल टोलीले फाइनल पुग्ने आधार कायम राखेको थियो । भारतसँग पराजित भए पनि पहिलो दुई खेलमा जित हासिल गर्दै ६ अंक जोडेको नेपाल प्रतियोगिताको शीर्ष स्थानमा छ र टोलीलाई फाइनल पुग्नका लागि बुधबार अन्तिम खेलमा ब‌गलादेशसँग बराबरी गरे पर्याप्त हुनेछ ।

भारतले भने फाइनल पुग्नका लागि अन्तिम खेलमा बुधबार आयोजक माल्दिभ्समाथि जित हासिल गर्नुपर्नेछ । यसैगरी अन्तिम खेलमा नेपाललाई हराउन सके ब‌गलादेशको पनि फाइनल पुग्ने सम्भावना जीवित छ ।

पहिलो खेलमा साविक विजेता माल्दिभ्सलाई १-० को नतिजामा पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ३-२ को विजयी नतिजा निकालेको थियो ।

आइतबारै चाडोगरी सम्पन्न खेलमा श्रीलंकामाथि १-० को जित हासिल गर्दै माल्दिभ्सले फाइनल पुग्ने आधार जोगाएको थियो । अघिल्लो खेलमा बंगलादेशमाथि २-० को जित निकालेको माल्दिभ्सले तीन खेलमा ६ अंक जोडेको छ । 

पछिल्ला दुई खेलमा बंगलादेश र श्रीलंकासँग बराबरीमा रोकिएको भारत नेपालमाथिको जितपछि पाँच अंकका साथ तेस्रो स्थानमा छ । भारतले बंगलादेशसँग १-१ तथा श्रीलंकासँग गोलरहित बराबरी नतिजा निकालेको थियो । 

श्रीलंकालाई १-० को नतिजामा हराएको बंगलादेश चार अंकका साथ चौथो स्थानमा छ । एक अंकमा सीमित श्रीलंका भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

यसपाली प्रतियोगितामा पाँच टोलीकोमात्र सहभागिता रहेकाले पहिलो चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपटि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।