भारतमाथि जितका साथ फाइनलमा स्थान बनाउने नेपालको लक्ष्य

काठमाडौं, (खेलाडी)- साफ च्याम्पियनसिप अन्तर्गत आइतबार तेस्रो खेलमा भारतको सामना गर्दा नेपाल कम्तीमा एक अंक जोड्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । दुई नेपाल ६ अंकका साथ शीर्ष स्थानमा छ भने चार अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा छ । समान दुई खेलमा तीन अंक जोडेको माल्दिभ्स तेस्रो स्थानमा छ भने दुई अंक जोड्दै भारत चौथो स्थानमा छ । तीन खेलमा श्रीलंका अंकविहिन छ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले भारतविरुद्धको खेल निकै कठिन हुने बताए ।

'भारत साफ च्याम्पियनसिपकै बलियो टोली हो, त्यसैले उनीहरुविरद्धको खेल कठिन हुनेछ, अल्मुताइरीले भने, 'भोली भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ । चार प्रतिशत खेल बराबरी हुने सम्भावना छ । नेपालले जित्ने सम्भावना एक प्रतिशत मात्र छ  ।हामी अन्तिम समयसम्म लड्दै आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रयास गर्नेछौ ।'

त्यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङ पनि भारत विरुद्धको खेल सहज नुहेन बताए ।
 
‘भारत विरुद्धको खेलका लागी हामीले राम्रो तयारी गरेका छौ, किरणले भने, 'प्रशिक्षकले भनेझै भोलीको खेल निकै कठिन हुनेछ । हामी हाम्रो गन्तव्यमा पुग्न स्टेप बाइ स्टेप अघि बढिरहेका छौं र दुई स्टेप पुरा गरिसकेका छौं । भोली हामी अन्तिम समय सम्म जितका लागी लड्ने छौं । प्रशिक्षकले भनेजस्तै भारत दक्षिण एसिया कै राम्रो टोली हो । तर यसको अर्थ हामी कमजोर छौं भन्ने होइन । हामी प्रतियोगिताको ‘अन्डर डग’ टोली हौं ।’

त्यस्तै किरणले साफ च्याम्पियनसिप जित्नु आफ्नो मात्रै नभई सम्पुर्ण नेपालीको सपना भएको बताएका छन् ।