सहिद स्मारक ए डिभिजन लिग

मनाङ र खुमलटार भिड्दै

काठामाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज एफसी खुमलटारको सामना गर्दा मनाङ मस्र्याङदी क्लब जितसहित रेलिगेशनबाट जोगिने सम्भावना बलियो पार्न चाहन्छ । 

मनाङ २२ खेलमा २८ अंकसहित १०औं स्थानमा छ । जुन १३ र १४औं स्थानमा रहेका फ्रेन्ड्स क्लब र खुमलटारभन्दा मात्र ४ अंक बढी हो । एफसी खुमलटारले मनाङलाई स्तब्ध पार्दै रेलिगशेनबाट जोगिने सम्भावना कायम राख्न चाहन्छ । पहिलो चरणको भेटमा यी दुई टोलीले २२ को बराबरी खेलेका थिए ।

मनाङ दोस्रो चरणमा अपराजित रहेको छ । यस क्रममा मनाङले नौ खेलमा ८ बराबरी खेलेको छ भने एक खेल मात्र जितेको छ । 

यी दुई टोलीबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आजै दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम (एनआरटी)बीच खेल हुनेछ । पुलिस २२ खेलमा ३१ अंकसहित चौथो स्थानमा छ भने आठौं स्थानको एनआरटीको समान खेलमा २९ अंक छ ।

आजै च्यासल फुटबल मैदानमा हुने खेलमा हिमालयन शेर्पाको सामना गर्दा फ्रेन्ड्स क्लब पनि जितसहित रेलिगेशन संकट टार्ने सम्भावना बलियो पार्न चाहन्छ । 
नवौं स्थानमा रहेको हिमालयन शेर्पाको २२ खेलमा २९ अंक छ । पछिल्लो खेलमा हिमालयन शेर्पा खुमलटारसँग ३१ ले पराजित भएको थियो ।