सहिद स्मारक ‘ए’ डिभिजन लिग

थ्री स्टार र संकटाले अंक बाँडे

फाइल फोटो

ललितपुर । जित्नैपर्ने दबाबमा रहेका थ्री स्टार क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेलेका छन् ।

 च्यासल मैदानमा बुधबार सम्पन्न २३ औं चरणको खेलमा राम्रो अवसर सिर्जना गर्न नसक्दा दुवै टोली अंक बाँड्न बाध्य भएका हुन् ।

बराबरीसँगै रेलिगेसनबाट जोगिन संघर्षरत दुवैले २३ खेलबाट २७ अंक जोडेका छन् । उनीहरु रेलिगेसन क्षेत्रमा रहेका फ्रेन्ड्स क्लब र एफसी खुमलटारभन्दा तीन अंकले मात्र अगाडी छन् ।

पहिलो हाफ सकिन दुई मिनेट बाकी छँदा थ्री स्टारका दीपेश गुरुङको प्रहार बाहिरिएको थियो ।

पहिलो हाफकै इन्जुरी समयमा पनि थ्री स्टारले दुई अवसरलाई सदुपयोग गर्न गर्न सकेन। पेनाल्टी बक्स बाहिरबाट आदित्य शाक्यले गरेको शक्तिशाली प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले बचाए । त्यसको केही सेकेन्डमै पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका दीपेश सहज गोल गर्नबाट चुके । उनको प्रहार बाहिरिएको थियो ।

खेलको इन्जुरी समयमा थ्री स्टारका मार्टिन्स अजाइको क्रसलाई सिफामन्डला माथेनवाले हेडमार्फत जाली चुमाएको भए पनि अफसाइड रहँदा त्यसले मान्यता पाएन ।

थ्री स्टारले पछिल्लो पटक ११औं चरणमा संकटालाई नै ३-० ले पराजित गरेको थियो । त्यसयताका १२ खेलमा थ्री स्टारले समान ६ बराबरी र हारको नतिजा निकालेको छ ।