सहिद स्मारक ‘ए’ डिभिजन लिग

मछिन्द्रको जितमा अफिजको ह्याट्रिक

फाइल फोटो

काठमाडौं । ओलावाले अफिजको ह्याट्रिकप्रेरत साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबमाथि ३-१ को सहज जित निकालेको छ ।

जितसँगै २३ खेलमा १० जित, नौ बराबरी र चार हारको नतिजासहित ३९ अंक जोडेर मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको सातदोबाटो समान खेलमा आठ जित, पाँच बराबरी र १० हारको नतिजासहित २९ अंकका साथ सातौं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार सम्पन्न खेल १६औं मिनेटमा अफिजको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । अफिजले दिवाकर चौधरीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा अफिजले नै टोलीको अग्रता दोब्बर बनाए । अफिजले आन्द्रेस नियाको पासमा सातदोबाटोका रक्षक इभन मिरिक र एकराज बुढाथोकी तथा गोलकिपर अभिषेक बराललाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।

५६औं मिनेटमा आफिजले ह्याट्रिक पुरा गर्दा मछिन्द्र ३-० ले अघि बढ्यो । अफिजले युटा सुजुकीको पासलाई सदुपयोग गरेका थिए ।

जारी लिगमा अफिजको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले एफसी खुमलटारविरुद्ध ह्याट्रिक गरेका थिए ।

८४औं मिनेटमा जोर्डन पुन मगरले सातदोबाटोका लागि एक गोल फर्काए ।

मछिन्द्र लिगमा अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।