सहिद स्मारक ‘ए’ डिभिजन लिग

जावलाखेलले आर्मीलाई हरायो

फाइल फोटो

काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभगीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि २-० को सहज जित निकालेको छ ।

जितसँगै २३ खेलमा ३७ अकं जोडेको जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको आर्मी समान खेलबाट ३० अंकका साथ पाँचौं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा जावलाखेललाई जित दिलाउन दुवै गोल एनकोटो मासोबीले गरे ।

खेलको ५६औं मिनेटमा एनकोटोको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । समिराज थोकरको पासमा मासोबीको फितलो प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउन नसक्दा गोल भएको थियो ।

६६औं मिनेटमा आर्मीका पदमकुमार तामाङको प्रहारले पोस्टको दिशा लिन सकेन । दुई मिनेटपछि आर्मीले बराबरीको अर्को अवसर गुमायो । दीपक गुरुङको क्रसमा जिलेस्पीजंग कार्की को हेडर पनि बाहिरिन पुग्यो ।

७२औं मिनेटमा जावलाखेलले अग्रतालाई दोब्बर बनाउने अवसर गुमायो । हिसुब थपलियाको क्रसमा आर्मीका गोलकिपर विकेशले पन्च गर्दा प्राप्त रिबाउन्डलाई फोडे फोफनाले राम्रोसँग प्रहार गर्न सकेनन् ।

७४औं मिनेटमा नवयुग श्रेष्ठको शक्तिशाली प्रहार जावलाखेलका गोलकिपर इश्वर गुरुङले बचाए ।

७९औं मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २-० को सहज जित दिलाए । मासेबीले फोफनाको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

जितसँगै जावलाखेलले लिगमा आर्मीविरुद्ध पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा आर्मी ३-१ ले विजयी भएको थियो ।