सदिह स्मारक ‘ए’ डिभिजन लिग

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो मनाङ

फाइल फोटो

काठमाडौं । अग्रता जोगाउन नसक्दा मनाङ मर्स्याङ्दी क्लब सदिह स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग २-२ को बराबरीमा रोकिएको छ ।

बराबरीसँग २० खेलमा २४ अंक जोडेको मनाङ आठौं स्थानमा यथावत छ । एपिएफ समान खेलमा २३ अंकका साथ नवौं स्थानमा छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा मनाङका लागि टिमोथी कोफी कुडो र सुमित श्रेष्ठ तथा एपिएफका लागि कप्तान नविन लामा र अर्मान्ड बिडोमले समान एक गोल गरे ।

खेलको १३ औं मिनेटमा कुडोले पेनाल्टीमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । एपिएफका विश्वास उदासले सुमित श्रेष्ठलाई पेनाल्टी बक्स भित्र लडाएपछि मनाङले पेनाल्टी अवसर पाएको थियो ।

उक्त फउलमा रेफ्री प्रज्वल क्षेत्रीले विश्वासलाई सिधै रातो कार्ड देखाएपछि एपिएफ १० खेलाडीमा सिमित बनेको थियो ।

२०औं मिनेटमा नविनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै एपिएफलाई बराबरीमा ल्याए ।

२६औं मिनेटमा सुमितले गोल गर्दा मनाङ २-१ ले अगाडी बढ्यो । सुमितले डिवान्डु डियाग्नेले थ्रू बललाई पोस्टको दिशा दिएका थिए ।

६४औं मिनेटमा बिडोमले एपिएफलाई २-२ को बराबरीमा ल्याए । बिडोमले नविनको फ्रिकिकलाई हेडमार्फत गोलमा परिणत गरेका हुन्।

 एपिएफविरुद्ध लिगमा मनाङ अपराजित रह्यो । पहिलो लेगमा मनाङले २-१ को जित निकालेको थियो ।