गोकर्णेश्वर उपमेयर कप महिला कराते प्रतियोगिता

उपमेयर कप करातेः चन्द्रागिरी टिम च्याम्पियन

काठमाडौं । चन्द्रागिरी डोजो प्रथम गोकणेश्वर उपमेयर कप महिला कराते प्रतियोगिताको च्याम्पियन बनेका छ । चन्द्रागिरी तीन स्वर्ण, दुई रजत र चार कास्यसहित च्याम्पियन बनेको हो ।

शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भयो । तेश्रो स्थानको बौद्ध डोजोले एक स्वर्ण र एक रजत जित्यो ।

गोकणेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुर्व्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत सञ्चालित प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित भइन् ।

बूढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडी चुनिइन् । आयोजक शंखडोल अनुशासित टोली घोषित भयो ।

विजेतालाई संघीय सांसद शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जित लगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगिताको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले गरेका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा आठ स्पर्धामा एक सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।  हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।